काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी मुद्दाको थुनछेक बहस बुधबार पनि जारी रहने भएको छ।
मंगलबार पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको प्रतिरक्षामा कानुन व्यवसायीहरुले बहस गरेका थिए। बुधबार पनि सुरुमा खाणकै कानुन व्यवसायीले बहस गर्ने छन्।
मंगलबार खाणको प्रतिरक्षामा १० जना वकिलहरुले बहस गरेका थिए। बुधबार पनि केही कानुन व्यवसायीले खाणको प्रतिरक्षामा बसह गर्नेछन्।
काठमाडौं जिल्ला अदालतले दिनमा औषत ३ जना प्रतिवादीको बहस टुंग्याउने गरी समय निर्धारण गरे पनि खाण एक्लैको प्रतिरक्षामा २ दिन लाग्ने देखिएको हो। खाणको पक्षमा बहसका लागि डेढ दर्जन बढी कानुन व्यवसायीले नाम टिपाएका छन्।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार अधिवक्ताहरु शेरबहादुर केसी, पंकजकुमार कर्ण, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, एकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले खाणको प्रतिरक्षामा बहस गरेका थिए।
खाण बाहेक अन्य ५ जना अभियुक्तको बहस हुन बाँकी छ। पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।