काठमाडौं- नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले महानगरको क्षेत्राधिकार भित्र रहेका विद्यालयमा लगाएको ताला महाननगर प्रहरीले खोलेको छ। विभिन्न माग राख्दै विद्यार्थी संगठनले विद्यालयमा तालाबन्दी गरेका थियो। ताला लगाइएका विद्यालयहरु वडा १५ मा ठूलो भर्याङमा रहेको संस्कृति इन्टरनेसनल स्कुल र वडा ३, बाँसबारीमा रहेको युलेन्स स्कुल हुन्।
यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध गरेका छन्।
‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ। विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ। चाहे त्यो सरकारी होस् वा निजी।’ प्रमुख शाहले भने, ‘हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ।’
यसअघि प्रमुख शाहले सार्वजनिक अपिल गर्दै शिक्षकलाई राजनीति नगर्न, कुनै दलको सदस्य लिएको भए त्याग गर्न अनुरोध गरेका छन्। यसैगरी विद्यालयमा राजनीतिक नगर्न अर्को पटक सार्वजनिक सूचनामार्फत आग्रह गरिएको थियो।
लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने जस्ता नियमको पालना गराउन महानगर आफैँले नियमित अनुगमन र नियमनका काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।