काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा मंगलबारको थुनछेक बहस सुरु भएको छ।
मंगलबार सुरुमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका कानुन व्यवसायीले बहस सुरु गरेका छन्। खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्।
मंगलबार खाणसहित ६ जना प्रतिवादीको बहस सक्ने अदालतको तयारी छ। काठमाडौंका जिल्ला प्रेमप्रसाद न्यौपानेले थुनछेक बहस ९ दिनमा सक्ने गरी समय निर्धारण गरेका थिए। जसअनुसार उनले सरकारी वकिल तथा पीडितका कानुन व्यवसायीलाई ३ दिनको समय दिएका थिए। प्रतिवादी पक्षका कानुन व्यवसायीका लागि ६ दिनको समय दिएका दिए।
न्यायाधीश न्यौपानेले निर्धारण गरेको समयअनुसार बहस भए मंगलबार प्रतिवादीका पक्षको प्रतिरक्षा बहस सकिनुपर्ने हो। मंगलबार प्रतिरक्षा बहस सकिएमा बुधबार सरकारी पक्षबाट जवाफी बहस हुनेछ।
सरकारी पक्षको जवाफी बहसपछि अदालतले थुनछेक आदेश सुनाउनेछ। न्यायाधीश न्यौपानेले सरकार र प्रतिवादीका कानुन व्यवसायीको बहस र अभियोगपत्रको अध्ययन गर्दै पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छन्।
थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म न्यायिक हिरासतमा बस्नुपर्ने छ। धरौटी माग गरेमा तोकिएको धरौटी बुझाएर रिहा हुने छन्। जिल्लाको निर्णय चित्त नबुझेमा उनीहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म जान सक्नेछन्।
गत बुधबारदेखि प्रतिवादीहरुको तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।