भद्रपुर- इलाममा उत्पादन भएको अदुवा भारततर्फ निकासी गर्दा झापाले कर लगाउन थालेको छ।
झापा जिल्ला समन्वय समितिले भन्सार बिन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको व्यवसायीले बताएका छन्। भारततर्फ निकासी हुन लागेको सुनिता ट्रेडर्सको १० हजार किलो अदुवामा झापा जिल्ला समन्वय समितिले पाँच हजार रुपैयाँ निकासी कर असुल गरेको हो।
‘जे एण्ड जे निर्माण सेवा प्रालि’ले जिल्ला समन्वय समितिबाट कर असुलीको ठेक्का लिएको छ। सो कम्पनीका व्यक्तिले पाँच हजार निकासी कर असुल गरेको नेपाल अदुवा व्यवसायी सङ्घ झापाका कार्यबाहक अध्यक्ष टोम राजवंशीले बताए।
दुई दिनयता समन्वय समितिले कर लिन थालेको उनको भनाइ छ। इलाममा उत्पादन भएको अदुवा झापामा निकासी कर लिँदा किसान तथा व्यवसायी दोहोरो मारमा परेको राजवंशीले बताए। लामो समयसम्म भारतीय क्वारेन्टाइनको अवरोधपछि बल्लतल्ल अदुवाको निकासी हुन थालेको थियो। अदुवा भारत निकासी नहुँदा कृषक निराश भएका थिए। अदुवामा दोहोरो कर नलिन मेची उद्योग वाणिज्य सङ्घले जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।