काठमाडौं- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा जेठ २४ देखि २६ गतेसम्म सञ्चालन भएको ‘१८औं हेड अफ एनसीबी कन्फ्रेन्स’मा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्किएका छन्।
त्रिभुवन विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले फहराएको इन्टरपोलको झण्डा इन्टरपोलका अध्यक्ष र महासचिवलाई कार्य समितिका सदस्यहरूको उपस्थितिमा मेगा कार्यकमबीच नेपाल प्रहरीकोतर्फबाट हस्तान्तरण गरिएको जानकारी दिए।
आगामी नोभेम्बरमा अष्ट्रियाको भियानामा हुने इन्टरपोलको महा सभामा प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई विशेष आमन्त्रण गरी सम्मान गर्ने कार्यक्रम घोषणा भएको उनले जानकारी दिए। यस कार्यले नेपाल र एनसीबी काठमाडौंको छवि माथि उठेको र विश्वसामु नेपालको अस्तित्व उजागर भई नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण घटनाको रूपमा रहने उनले दाबी गरे।
प्रहरी महानिरीक्षक कुँवरले उक्त कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसीबी प्रमुखहरूबीच इन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवाद जस्ता अपराधहरूको नियन्त्रण लगायतका विषयहरुमा बृहत छलफल भई विभिन्न प्रस्ताव पारित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।