काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन्।
दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने, ‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ। अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन।'
नेपाल सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सबल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिसकेको उनले बताए। त्यसबाट प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।