वीरगन्ज– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग, व्यवसाय वा अन्य विकासका पूर्वाधारमा राज्यका सबै अंगबाट अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गर्न सकेमा छोटो समयमै विकास र सम्मृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन्।
शुक्रबार वीरगञ्जमा आयोजित औद्योगिक प्रवर्द्धन कार्यक्रम तथा मधेश सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राज्य तथा यसका हरेक निकायबाट निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुपर्नेसमेत बताए।
छोटो समयमा दक्षिण पूर्वी एशियाली मुलुक मेलेशियाले हासिल गरेको विकास र सम्मृद्धिको उदाहरण दिँदै ढकालले भने, ‘निजी क्षेत्रले अगाडि बढाउने हरेक आयोजनामा तीनवटै तहका सरकार तथा राज्यका अन्य निकायबाट हुने सहजीकरणले निजी क्षेत्रलाई थप लगानी गर्न, थप रोजगारी सृजना गर्न र थप राजश्व बुझाउन मद्दत पुग्ने हो। विकास र सम्मृद्धि हासिल हुने हो।’
उनले अघि थपे, ‘सरकारले निजी क्षेत्रले सञ्चालन गर्ने उद्योग वा कुनै पनि पूर्वाधार आयोजनालाई हाम्रो पार्टनरसिपको आयोजना हो भन्ने गरी सहयोग र सहजीकरण गर्नुपर्यो। राज्यले निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुपर्यो। त्यस्ता आयोजना हामी सबैका साझा सम्पत्ति हुन् भनेर सबै निकायबाट अपनत्व लिनुपर्यो।’
तर, नेपालमा क्याबिनेटबाट भएका निर्णयहरुसमेत कार्यान्वयन हुन नसकेको अवस्था छ। त्यसले केन्द्रदेखि स्थानीयतहसम्मको प्रकृयालाई सरलीकरण गर्नुपर्ने आवश्यकता रहेको छ उनको भनाइ छ।
मधेश प्रदेशमा रहेका सम्भावित आयोजनाको पहिचान गर्न स्थानीय सरकार तथा व्यवसायीहरुलाई आग्रह गर्दै ढकालले त्यस्ता आयोजनामा पुँजी र प्रविधिको लागि निजी क्षेत्रको तर्फबाट तथा व्यक्तिगत तर्फबाट आफूले पहलकदमी लिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।