बार्सिलोना (स्पेन)- स्पेनको प्रतिपक्षी दलका प्रमुख पेड्रो सेन्चेजले क्याटलोनियाली नेता चार्ल्स पुइगडेमन्टलाई स्पेनबाट पृथक हुनेबारेका सम्पूर्ण विषय रोक्न आग्रह गरेका छन्।
केही दिनमै कुनै देशबाट स्वतन्त्र बन्ने निर्णय लिनु उचित नहुने भन्दै यस विषयमा सोच्न सेन्चेजले आग्रह गरे। बार्सिलोनामा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, 'यस समय यदि उहाँले टेलिभिजन वा अन्य सञ्चारमाध्यममार्फत हामीलाई हेर्नुभएको वा सुन्नुभएको छ भने एकतर्फी रूपमा स्वतन्त्र भएको घोषणा गर्नुहुने छैन वा जनमत सङ्ग्रहका कुनै पनि निर्णयलाई कार्यान्वयनमा लग्नुहुने छैन।'
यसैबीच फ्रान्सका यूरोपेली मामिला मन्त्री नाथली लुसोले क्याटलोनियाले एकतर्फी रूपमा स्वतन्त्र भएको घोषणा गरे विश्व समुदायले मान्यता नदिने बताएका छन्। यो समस्यालाई स्पेनी राजनीतिको सबै तहमा वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो। क्याटलोनिया स्वतन्त्र भएको घोषणासँगै युरोपेली महासंघबाट स्वत बाहिरिनेछ र सदस्यता लिन चाहेमा सम्पूर्ण प्रक्रिया पुर्याएर आवेदन दिनुपर्नेछ। उनले भने, 'हामी स्पेनका सहयोगी हौँ र स्पेन विश्वको एक प्रमुख प्रजातान्त्रिक मुलुक हो। त्यसैले हामीले आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहन्नौं।'
फ्रान्सको सिमानामा रहेको क्याटलोनियामा यसअघि नै यथेष्ट स्वायत्तता पाउँदै आएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।