काठमाडौं– गत वैशाखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लियो। माघमै सरकारबाट बाहिरिएको भए पनि उसले वैशाखमा मात्रै समर्थन फिर्ता लिएको थियो। त्यतिबेला रास्वपाका सभापति रवि लामिछानेले उद्घोष गरेका थिए, ‘एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने धेरैले हेर्न चाहेका छन्। हामी त्यो भूमिकामा देखिन्छौँ।'
तर रचनात्मक प्रतिपक्षीको भूमिकाको उद्घोष गरेको १ महिना नपुग्दै संसद्मा रास्वपाको नयाँपन देखिन छाडेको छ। १–२ जना सांसदको भूमिकालाई छाड्ने हो भने उसका सबैजसो सांसद अन्य पार्टीका सांसदभन्दा फरक देखिँदैनन्।
मंसिर ४ को निर्वाचनमा अप्रत्यासित नजिता निकालेर उदाएको एउटा नयाँ दलको प्रस्तुती पनि सोहीअनुसार हुने आममानिसको आकलन थियो। त्यो आकलनको कारण उनीहरुले नै प्रस्तुत गरेको प्रतिबद्धताबाट सिर्जित भएको थियो। सम्भवतः त्यही प्रतिबद्धताप्रति विश्वास कायम राखेरै हुनुपर्छ, वैशाखको उपनिर्वाचनमा चितवनमा लामिछानेको पुनर्विजय र तनहुँबाट अर्थशास्त्री समेत रहेका डा स्वर्णिम वाग्लेको विजय सम्भव भयो।
उपनिर्वाचनले रास्वपाप्रति आममानिसमा समेत आशाको निरन्तरतालाई नै पुष्टि गर्छ। तर संसद्ले लय लिँदै गर्दा रास्वपाले आममानिसको आशामा खरो उत्रन नसकेको प्रतीत हुन थालेको छ। यसका सांसदहरु पुराना दलहरुकै शैलीमा प्रस्तुत हुन थालेका छन्।
पछिल्ला दिनमा चर्चामा रहेका दुई विषयबाट रास्वपाको शैली केलाउन सकिन्छ- राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको नागरिकता विधेयकको प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण।
यी दुई विषयमा रास्वपाले निर्वाह गरिरहेको भूमिकाले विगतमा उसले व्यक्त गरेको रचनात्मक प्रतिपक्षीको प्रतिबद्धतासँग तादम्यता खाएको देखिँदैन। संसद्मा रास्वपा अजेण्डागत रुपमा क्रमशः कमजोर हुँदै गइरहेको देखिन्छ। सोमबारको प्रतिनिधि सभा बैठकका क्रममा र मंगलबारको बैठकअघि उसको प्रस्तुतीले ऊ एमालेको ‘उपग्रह’ जस्तो प्रतीत हुन थालेको देखिन्छ।
सोमबार प्रतिनिधि सभा बैठक चलिरहँदा एमाले र रास्वपाका सांसदहरु छुट्याउन मुस्किल पर्थ्यो। किनकि, रास्वपाका सांसदहरु एमालेकै सांसदसँग लय मिलाएर उठ्ने बस्ने गरिरहेका थिए। एमालेका सांसदले हात उठाउँदा रास्वपाका सांसदहरु पनि उठाउँथे। एमालेका सांसदहरु बस्दा रास्वपाका सांसदहरु पनि बस्थे। रोचक त, एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाषण गरिरहँदा रास्वपाका सांसदहरु बीचबीचमा टेबल ठटाइरहेका थिए। सम्भवतः ‘नो नट अगेन’को आह्वानप्रति सामूहिक पुनर्मूल्यांकन गरिरहेका थिए।
तस्बिर: रासस
जबकि, सोमबार ओलीको प्रस्तुतीमा रचनात्मकता कम र उत्तेजना ज्यादा थियो। प्रधानमन्त्री छँदा आफू स्वयंले अनुशरण नगरेका विदेशीसँग कुराकानी गर्दा परराष्ट्रमन्त्री वा शिष्टाचार महापाल राख्ने कुरामा उनी लाजै नमानी प्रधानमन्त्री प्रचण्डलाई अर्ती दिँदै थिए। रास्वपाका सांसदहरु ओलीलाई अनुमोदन गर्दै थिए। ओलीको अभिव्यक्तिमा रोमाञ्चकता महसुस गर्दै थिए।
रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्रीले ‘भैंसी चढेर आएको’ भन्ने जस्ता अभिव्यक्ति दिए। अंसदीय शब्द बोलेकोमा क्षमा मागेको भए उनकै महानता प्रस्तुत हुने थियो। रास्वपाको रचनात्मक प्रतिपक्षी भूमिका प्रस्तुत हुने थियो। सभामुखले रेकर्डबाट हटाउने निर्देशन दिइसक्दा समेत सभापति लामिछाने आफैं उठेर खनालको असंसदीय अभिव्यक्तिको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका थिए। संसदीय वैधानिकता स्थापित गर्ने प्रयत्न गर्दै थिए। ‘अर्कोले गाँजा खान हुने, हामीले चरेस खान नहुने?’ शैलीका तर्क गरेर पुराना दलका रंगहीन नेताको उत्तराधिकारी बन्ने प्रयत्न गर्दै थिए।
रास्वपाका सांसदहरुले संसद्मै राखेका विचार पनि रचनात्मक प्रतिपक्षी सुहाउँदो थिएन। प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा उसको विरोध परम्परागत शैलीबाट माथि उठ्न सकेको थिएन। तथ्यहरुमा टेकेर ऊर्जा, कृषि वा पञ्चेश्वर आयोजना वा हवाई मार्ग आदिमा प्रश्न गर्नेभन्दा पनि राष्ट्रवाद, देशघात, जनताविरोधी जस्ता शब्दहरु छताछुल्ल थिए। दशकौँअघिका भाषामा आजको यथार्थको व्याख्या गर्न खोज्दै थिए।
जनताका खास मुद्दाहरुभन्दा परम्परावादी दलहरुलेझैं मोटा र अमूर्त अजेण्डाहरुलाई नै दलले लोकप्रिय बन्ने औजार बनाउँदै लगेको देखिन्छ। उदाहरणको लागि सर्वोच्च अदालतमा विचाराधीन नागरिकताको विषयमा समेत रास्वपा चर्को सुनिन चाहेको देखिन्थ्यो। सीमा विवादलाई कूटनीतिक तबरबाट हल गर्नेभन्दा राष्ट्रवादको मुद्दा चर्काउन खोजेको देखिन्थ्यो। त्यसैले त रास्वपाका सांसदहरु ‘ग्रेटर नेपाल’को नक्सा राख्ने कुरा गर्दै थिए।
मंगलबार पनि ‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता’को विषयलाई लिएर रास्वपाको स्वर एमालेसँग मिल्यो। संसद् सुचारु गर्दै संसद्बाटै समाधान खोज्नेभन्दा एमालेकै लाइनमा संसद् अवरुद्ध गर्ने मुडमा थियो, रास्वपा। एमालेको संसद्प्रतिको दृष्टिकोण २०५७ मा होस् वा २०७७ मा होस्, प्रष्ट देखिने गरेको छ। त्यसैको अनुकरण गर्ने प्रयासमा देखियो रास्वपा। उसको शैलीप्रति टिप्पणी गर्दै नेपाली कांग्रेसको एक नेताले मंगलबार नेपाल लाइभसँग भने, ‘यो दल त एमालेको उपग्रहजस्तो पो भयो।’
राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल भने रास्वपालाई अहिले नै एमालेको उपग्रहको भूमिकामा देखिएको भनेर ठोकुवा गर्न सकिने अवस्था नभएको बताउँछन्। नेपालमा अहिले संसदीय राजनीति अति भाँडिएको र रास्वपामा पनि क्रमशः यसको प्रभाव पर्ने सम्भावना रहेको उनको विचार छ।
‘पहिलो त रास्वपा नयाँ प्रवेशी भयो। उनीहरुलाई संसदीय अभ्यास थिएन। अर्को यो दलका मुख्य नेता सत्तामा आउन चाहिरहेका थिए। त्यो सम्भव भएन। कसरी अगाडि बढ्दा बेग्लै छवि बनाउन सकिन्छ भन्ने कुरामा उनीहरुको (रास्वपा नेताहरुको) पर्याप्त गृहकार्य नपुगेको हो कि जस्तो देखिन्छ,’ पोखरेलले बताए।
पोखरेलका अनुसार रास्वपामा सरकारको विरोध गर्यो भने जनताको नजरमा स्थापित हुन सकिन्छ भन्ने मान्यता बलियो हुँदै गएजस्तो देखिन्छ। विरोध गर्दा पनि प्रमुख प्रतिपक्षी त एमाले भयो। ‘अहिले एमालेकै नेताहरुले बोलेका कुराहरुको पछिपछि उनीहरु लागेको जस्तो देखियो,’ पोखरेल भन्छन्।
त्यसो भए रास्वपा एमालेको उपग्रहजस्तो भूमिकामा देखापर्दै गएको हो? पोखरेलका अनुसार, अहिले नै त्यो निचोड निकाल्न मिल्दैन। तर यही ढंगको बाटोमा अगाडि बढ्यो भने एउटा बिन्दुमा त्यो अवस्था आउने आभाष मिल्ने उनी बताउँछन्।
एमाले र रास्वपा दुवै व्यग्रताका साथ सत्तामा जान खोजेका दलहरु भएको उनको विश्लेषण छ। थप्छन्, ‘तर दुवै दलहरु सत्तामा पुगेर पनि विमुख हुनुपर्ने अवस्था आयो। त्यसको तुष पनि हुनसक्छ।’
तर पोखरेल नयाँ दल भएको र संसदीय राजनीतिमा पनि नयाँ भएकोले रास्वपालाई शंकाको लाभ वा सुविधा भने दिनुपर्छ भन्ने मान्यता राख्छन्। काम गर्दै र सिक्दै जाने क्रममा रास्वपाले अलग पहिचान बनाउन सक्छ भन्ने विषयमा शंकाको लाभ दिनपर्छ। तर त्यसको पुष्टि सो दलको आगामी दिनका भूमिका र शैलीहरुले तय गर्दै जानेछ।
रास्वपाका नेताहरु भने एमालेको उपग्रह, छाया वा वृतको दल बनेको मान्न तयार छैनन्। रास्वपाकी सचेतक निशा डाँगीले सदनमा कुनै ‘प्लान’का साथ एमालेसँगै नउभिएको बताइन्। ‘हिजोदेखि धेरैले यही टिप्पणी गरिरहनुभएको छ,’ नेपाल लाइभलाई प्रतिक्रिया दिँदै उनले भनिन्, ‘तर एमालेको पक्षमा वा विपक्षमा भन्ने कुरा आउँदैन। हामी आफ्नो धारणा राख्छौँ। आफ्नो नीति र मान्यतामा उभिन्छौँ। एमालेभन्दा फरक छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।