काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्।
कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनुपर्ने बताएका हुन्।
‘म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न,’ सभापति थापाले भने, ‘प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ । त्यो नियममा उहाँ रहनुपर्छ ।’
त्यस्तै थापाले फागुन २१ को निर्वाचन परिणाम अनपेक्षित भए पनि अब सम्हालिएर अघि बढ्नुपर्ने बताएका छन्।
२०७२ सालमा संविधान निर्माण र शान्ति प्रक्रियाको टुंगोपछि दलहरूले नागरिकबाट केही हदसम्म शंकाकाे सुविधा पाएको भए पनि ०७४ पछिको राजनीतिक कालखण्डमा नागरिक अपेक्षा गुणात्मक रूपमा बढे पनि राजनीतिक अभ्यासमा अपेक्षित सुधार नदेखिएको बताए।
उनले भने, ‘७४ पछि हामीले राजनीतिको केन्द्रमा सत्ता, सत्तासँग जोडिएको शक्ति, पार्टीभित्रको गुटका लागि वा परिवारका लागि, आफ्ना लागि, त्यससँग जोडिएर आउने पात्र, प्रवृत्ति, काण्ड, एउटासँग मिलेर निर्वाचन लडेको छ, अर्कोसँग मिलेर सरकार बनाएको छ । बन्ने, भत्काउने र त्यसका त्यसका पनि कुनै राजनीतिक कारण भए ठीक छ, कुनै जायज राजनीतिक कारण छैन । पार्टीको कुनै एउटा नेतासँग जोडिएका विषय होइन। कसैलाई दोष दिएको होइन, म पनि त्यसको एउटा भाग नै हुँ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।