काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो। नेपालले अमेरिकालाई १२२ रनले हराएको हो।
अमेरिकाका सञ्जय कृष्णमुर्तीले ५६, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले तीन, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोडेको थियो । नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए।
डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेलेका थिए। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिएका थिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाएका थिए।
अमेरिकाका लागि शुभम रंजानले ३ विकेट लिदा रुसिल उगारकर र मिलिन्द कुमारले १–१ विकेट हात पारेका थिए ।
यो जितसँगै नेपालले २८ खेलमा ११ जित र १५ हारका साथ २४ अंक जोडेको छ। नेपाल अंकतालिकाको पाँचौं स्थानमा छ।
घरेलु सिरिजमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले ८ खेल मध्ये ६ खेलमा जित हात पार्यो। यूएई, ओमान र नेपाल सम्मिलित सिरिजमा ४ खेलमा नेपालले तीन जित हात पार्दा अमेरिका र स्कटल्याण्डसँगको सिरिजमा पनि तीनै खेलमा जित निकाल्यो।
नेपालले यसपछि जुलाईमा नेदरल्यान्ड्समा गएर डच र नामिबिया तथा अक्टोबरमा मस्कट गएर ओमान र क्यानडाविरुद्ध खेल्दै लिग २ को यात्रा टुंग्याउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।