काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो। नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपाल र यूएईले टियु मैदानमा ३१० रन बनाएका थिए।
डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए।
अमेरिकाका लागि शुभम रंजानले ३ विकेट लिए। रुसिल उगारकर र मिलिन्द कुमारले १–१ विकेट हात पारे ।
जारी त्रिकोणात्मक सिरिजमा यो नेपाल र अमेरिकाबीचको दोस्रो तथा अन्तिम खेल हो ।
आठ राष्ट्र सहभागी लिग २ मा एउटा टोलीले कुल ३६ खेल खेल्नेछ। त्यसमध्ये १२ घरेलु मैदान, १२ तटस्थ भूमि र १२ विपक्षीको भूमिमा खेल्नुपर्ने प्रावधान छ।
अघिल्लो महिना यूएई र ओमानसम्मिलित घरेलु सिरिजमा नेपालले यूएईविरुद्ध दुवै र ओमानविरुद्ध एक खेलमा विजयी नतिजा निकालेको थियो भने ओमानसँग एक खेलमा हार भोगेको थियो। यस सिरिजमा नेपालले स्कटल्यान्डसँग एक खेल जित्यो भने अर्को खेलमा पराजय भोग्यो।
आज अमेरिकासँग जित हात पारे पुबुदु दासानायकेको टोलीविरुद्ध नेपालले घरेलु मैदानमा खेलिएको लिग २ को यात्रा ‘क्लिन स्विप’ गर्नेछ।
अमेरिकाको २७ खेलमा ३८ र स्कटल्यान्डको ३२ खेलमा ३८ अंकसहित पहिलो दुई स्थानमा छन्, तर नेट रनरेटका कारण अमेरिका अगाडि छ।
स्कटल्यान्डविरुद्ध सोमबार विजय हात पारेपछि नेपाल सातौं स्थानबाट पाँचौं स्थानमा उक्लेको थियो। शीर्ष चारको झिनो सम्भावना कायम राख्न नेपाललाई अमेरिकाविरुद्ध जित निकाल्न जरुरी छ।
नेपालले यसपछि जुलाईमा नेदरल्यान्ड्समा गएर डच र नामिबिया तथा अक्टोबरमा मस्कट गएर ओमान र क्यानडाविरुद्ध खेल्दै लिग २ को यात्रा टुंग्याउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।