काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले संस्थागत विद्यालयलाई आगामी २८ गतेभित्र अनिवार्य रुपमा विवरण पेस गर्न निर्देशन दिएका छन्।
सामाजिक सञ्जाल मार्फत् उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारको बारेमा गम्भीर छौं। काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था रहेको छ। सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्छ।’
महानगरले संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका बारे गत वैशाख २४ गतेको परिपत्र र जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभागमा र इमेलमा अनिवार्य रूपले पठाउन सूचित गर्न निर्देशन दिएको थियो।
मेयर शाहले धेरै विद्यालयहरूले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन्। महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको सूची प्रकाशित गर्दै जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिएको छ।
नियमअनुसार विवरण पेस नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।