काठमाडौ– आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ। आइतबार बिफोरयु म्युजिकबाट सिनेमाको हिन्दी डब ‘होना था जो होने लगा’ रिलिज गरिएको हो।
सिनेमाको हिन्दी गीतलाई अमित मिश्र र सोनल प्रधानले स्वर दिएका छन्। केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द रचना विनित त्रिपाठीले गरेका हुन्।
सिनेमाका दुई मुख्य कलाकार शिल्पा मास्के र गौरव बिष्टलाई गीतमा फिचर्ड गरिएको छ। नेपाली र हिन्दीमा रिलिज हुने सिनेमाको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी हेर्न सकिन्छ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन्। सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल सिनेमाका लेखकसमेत हुन्। सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ।
सिनेमाको प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।