डडेल्धुरा– डडेल्धुराकी १० वर्षीया बालिका मृत भेटिएकी छिन्। नवदुर्गा गाउँपालिका–५ लम्पाटीकी १० वर्षीया सानु विक मृत भेटिएकी हुन्।
विद्यालयबाट फर्किएपछि उनी मंगलबार बाख्रा चराउन जंगल गएकी थिइन्। तर उनी साँझ घर फर्किनन्। खोजी गर्दा उनी घरभन्दा एक किलोमिटरको दूरीमा मृत भेटिएकी हुन्।
अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बिहान ६ बजे मृत अवस्थामा फेला पारेको हो। उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए।
उनले मुचुल्काको काम सिध्याएर अहिले डडेल्धुरा अस्पतालमा शवको पोस्टमार्टम भइरहेको बताए। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युबारे थप खुल्ने डिएसपी भट्टले बताए। यो बारेमा आवश्यक अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।
उता मृतकको शव जमिनमै पल्टिएको र घाँटीमा बाँधिएको डोरी खुकुलो भएका कारण सानुले आत्महत्या गरेको भन्ने विश्वास नलागेको उनका काका पर्ने भीम विकले बताए।
साथै उनले मृतकको गोप्य अंगबाट रगत बगेकाले हत्याको आशंकासमेत रहेको बताए। आफन्तले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।