काठमाडौं- परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गरेका छन्। प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ २० गतेसम्म हुँदैछ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर मंगलबार परराष्ट्र मन्त्रीले साउदले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताए। उनले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाए।
भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई मुख्य जोड दिइने बताउँदै साउदले भारतीय भूमी प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको उल्लेख गरे।
‘नेपाल र भारतबीचमा घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध रही आएको छ। यो भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौं र दुई देशबीचको समझदारीलाई पनि अझ बढाउँदै लैजाने हाम्रो प्रयत्न रहनेछ। हामीले यो भ्रमणमा ट्रेड, ट्रान्जिट, कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेसन, जस्ता मुद्दाहरुलाई अगाडि बढाउनेछौँ,’ परराष्ट्र मन्त्री साउदको दाबी छ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्र मन्त्री साउद, अर्थमन्त्री डा प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल सहभागी हुनेछन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।