बागलुङ– स्थानीय तहमा बैङ्क पुर्याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दश वटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन्।
ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो। सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ।
प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा पुर्याएको थियो। प्रभु बैङ्कले दशवटै स्थानीय तहमा शाखा खोल्ने तयारीमा रहेको अध्यक्ष देवी भट्टचनले बताए। प्रभुपछि ग्लोबल आइएमई बैङ्कले चार स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ।
बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैङ्क पनि गलकोट र ढोरपाटन नगरपालिकामा शाखा विस्तार गर्ने योजनामा छ। ग्रामीण भेगमा आधुनिक बैंकिङ सेवा पुर्याउने लक्ष्य लिइएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए।
बागलुङको काठेखोलामा शाखा सञ्चालनमा आएसँगै ग्रीनका शाखा सङ्ख्या चार पुगेको छ।
बैङ्क सञ्चालनमा आएसँगै गाउँपालिकालाई आर्थिक गविविधिसँग जोड्न सहज भएको छ।
सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने दुई दर्जन बढी बैङ्कका शाखा छन्। सदरमुकामसँगै गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकामा नेपाल बैङ्क लिमिटिडको पनि शाखा सञ्चालनमा छ। सबैभन्दा बढी वाणिज्य र त्यसपछि विकास बैङ्कले आफ्नो सेवाको पहुँच बढाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।