काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का १२ मन्त्री तथा दुई राज्यमन्त्रीले जिल्ला तथा व्यक्तिगत प्रयोजनका लागि भन्दै ४ महिनायता भ्रमण भत्तावापत १७ लाखभन्दा बढी रुपैयाँ खर्च गरेका छन्।
मन्त्रिपरिषद् सदस्यले व्यक्तिगत प्रयोजन, राजनीतिक गतिविधि र अन्य कार्यका लागि देशका विभिन्न स्थानमा गरेको भ्रमण खर्च आइतबार भुक्तान गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
पाँच पटक विस्तार भएको मन्त्रिपरिषद्का सदस्यले भ्रमणवापत १७ लाख २४ हजार ७ सय ६० रुपैयाँ खर्च गरेका हुन्।
भुक्तानी लिनेमा सबैभन्दा बढी रकम खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवको नाममा छ । उनका सहयोगी वीरेन्द्रकुमार यादवले ४ लाख २५ हजार ९ सय रूपैयाँ बुझेका थिए।
दोस्रो नम्बरमा भूमिसुधार तथा व्यवस्थामन्त्री डा गोपाल दहितले २ महिनाको अवधिमा भ्रमणवापत २ लाख ३७ हजार ६ सय २० रुपैयाँ भुक्तानी लिएका छन् । मन्त्री दहितले सहयोगी मीनराज चौधरीमार्फत रकम बुझेका छन्।
तेस्रो नम्बरमा महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसैन छन् । मन्त्री हुसैनको भ्रमण खर्च १ लाख ८४ हजार ६ सय २० रुपैयाँ राजेन्द्रप्रसाद ओझाले बुझेका छन् । यस्तै, चौथो क्रममा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल छन् । उनको भ्रमण खर्च १ लाख ७४ हजार ४ सय ५० रुपैयाँ इन्द्रमणि पोखरेलले बुझेका हुन्।
पाँचौं नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सहयोगी केशवबहादुर बलायर मार्फत १ लाख ७४ हजार ३ सय ५० रुपैयाँ भुक्तानी लिएका छन्।
आपूर्ति राज्यमन्त्री कर्णबहादुर बुढाले पनि भ्रमण वापत १ लाख १५ हजार ५ सय ५० रुपैयाँ सहयोगी राजेन्द्रबहादुर बुढामार्फत बुझेका छन्।
एक लाखभन्दा कम रकम भुक्तानी लिने अन्य मन्त्रीहरुमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, सहरी विकास मन्त्री प्रभु साह, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनी, सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का, भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदाकुमारी लामा र शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी छन्।
उनीहरुले ३० हजार देखि ८५ हजारसम्म भ्रमण खर्च वापतको भुक्तानी आइतबार सहयोगी मार्फत बुझेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।