काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्बभन्दा बढी ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण पक्राउ परेका छन्।
पक्राउ परेका खाणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याइएको थियो। सो क्रममा अनुसन्धान अधिकारीले यो–यो कारणले उहाँलाई पक्राउ गर्नु परेको र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाउँ भन्दै म्याद मागेका थिए।
त्यसपछि खाणले पनि म पनि मेरा केही कुरा राख्छु भन्दै बोल्न थाले। खाणले भने, ‘नक्कली शरणार्थी बनाएर कसैलाई पनि अमेरिका पठाइएको छैन। कोही पनि अमेरिका नगएको घटनामा कसरी ठगी भयो?’
सरकारी वकिल कार्यालयमा केही पीडित पनि उपस्थित भएका थिए। त्यसपछि पीडितले पनि त्यहाँ कुरा राखे। पीडितलाई सोधियो–‘तपाईंहरुले कसलाई पैसा दिएको हो?’
पीडितले विचौलियाको नाम दिए।
‘तर विचौलियाहरुले हामीलाई मन्त्री, प्रधानमन्त्रीसम्म सबै मिलाइसकेका छौं भन्थे’ पीडितले भने। त्यसपछि खाणले हौसिदै भने, ‘सुन्नुभयो, प्रधानमन्त्री रे।’ ‘नोट गर्नुस्, नोट गर्नुस् प्रधानमन्त्री रे,’ खाणले भने।
त्यसपछि उनलाई तीन दिनको म्याद दिएर थुन्न हिरासतमा पठाइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।