काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा पक्राउ पर्नुअघि पूर्व गृहमन्त्री बालकृष्ण खाणले पनि फरार हुन प्रयास गरेको खुलेको छ।
प्रहरीका अनुसार खाणलाई पक्राउ गर्नुपर्ने आधार पेस गर्दै मंगलबार नै जिल्ला अदालत काठमाडौंसँग पक्राउ पूर्जीका लागि अुनरोध गरिएको थियो। आफूलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिन खोजेको सूचना पाएपछि खाणले फरार हुने प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार खाणले आफू पक्राउ पर्ने आशंकाका बीच मंगलबार बेलुकी नै मोबाइल अफ गरेका थिए। मंगलबार ८ बजेसम्म एक्टिभ देखिएको खाणको मोबाइल त्यसपछि भने स्विचअफ देखिएको थियो।
मोबाइल अफ हुनु अगाडिसम्म उनको अन्तिम लोकेशन काठमाडौंको कोटेश्वर देखिएको थियो। तर त्यसपछि मोबाइल स्विचअफ गरेर खाण सम्पर्कविहीन बनेका थिए।
प्रहरीको टोलीले मंगलबार रातभर नै खाणको खोजी गरेको थियो। बुधबार बिहान मात्रै उनी चाबहिलस्थित निवासमा रहेको पत्ता लागेको थियो। खाणको निजी घर नभए पनि उनी चाबहिलस्थित घरमा लामो समयदेखि बस्दै आएका थिए।
सादा पोसाकमा समेत प्रहरी परिचालन गरेर खोजी गर्दा बुधबार बिहान मात्रै उनी चाबहिलको मैजुबहालस्थित घरमा रहेको पत्ता लागेको थियो।
मैजुबहालको घरमा रहेको पत्ता लागेपछि उनको निगरानीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट सादा पोसाकमा प्रहरी परिचालन भएको थियो। पछि काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको निवास पुगेको थियो।
‘ठगी प्रकरणमा यसअघि पक्राउ परेका प्रतिवादीहरुको बयान, ठगीमा संलग्न गिरोहका सदस्य र पीडितबीचको टेलिफोन कुराकानीको अडियो र तत्कालीन गृहसचिव टेक नारायण पाण्डेको बयानका आधारमा हामीले उहाँ (खाण) लाई पक्राउ गर्ने तयारी गरेका थियौं। त्यसबारे अदालतबाट अनुमति लिने प्रक्रिया पनि सुरु भएको थियो। तर उहाँ भने मंगलबार बेलुकीदेखि मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने, ‘हामीले उहाँको रातभर नै खोजी गर्यौं। बुधबार बिहान चाबहिलमा रहेको भन्ने सूचना पाइयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।