काठमाडौं– बुधबार बिहान काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न उनको निजी निवास चाबहिल पुगेको थियो। प्रहरीको टोली पक्राउ गर्न पुग्दा खाणको निवासमा २ जना मात्रै थिए। १ जना खाण र अर्का उनका सहयोगी नरेन्द्र केसी।
प्रहरीको एउटा टोली पक्राउ पूर्जी लिन अदालत पुगेको थियो भने अपराध अनुसन्धान कार्यालयबाट सादा पोसाकमा त्यसअगाडि नै एउटा टोली खाणको निवास वरपर खटिएको थियो।
सादा पोसाकमा खटिएको टोलीले खाणका गतिविधिमाथि निगरानी गरिरहेको थियो। पक्राउ पूर्जी जारी हुने सूचना पाएपछि खाण फरार हुनसक्ने सम्भावनाका बीच सादा पोसाकमा प्रहरी टोली खटाइएको थियो।
तर प्रहरीको टोली आफूलाई पक्राउ गर्न पुग्दा खाण भने केही हड्बडाएका थिए। सुरुमा उनले प्रहरीको टोलीलाई ‘के–के सोध्ने हो यहीँ सोध्नू’ भनेका थिए। प्रहरी कर्मचारीले भने कार्यालयमै पुगेर बयान दिनुपर्ने अडान लिएका थिए।
‘तपाईंहरुलाई के के कुरा सोध्नुपर्ने हो यहीँ सोध्नोस्। मैले केही गलत काम गरेको छैन भने किन तपाईंहरुको कार्यालय पुगेर बयान दिने? म किन जाने?’ खाणले सुरुमा प्रहरी अधिकृतसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो।
तर प्रहरीको टोलीले अदालतबाट जारी भएको पक्राउ पूर्जी थमाएपछि भने खाण केही नरम रुपमा प्रस्तुत भए। त्यसपछि भने खाण त्यहाँबाट आउन तयार भएको प्रहरी स्रोतले जानकारी दियो।
‘ठिकै छ। म जान्छु। केही नगर्दा पनि फसिँदो रहेछ,’ प्रहरी टोलीसँग खाणले भने। त्यसपछि भने प्रहरीले खाणलाई भ्यानमा राखेर जिल्ला प्रहरी परिसर टेकु पर्यायो।
प्रहरीले खाणका सहयोगी केसीलाई पनि त्यहीँबाट पक्राउ गरेको थियो। तर उनलाई भने छुट्टै गाडीमा राखेर परिसर टेकु ल्याइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।