बाँके–जहाँ हरेक दिन ‘सारेगमपधनिसा’ को धुन गुञ्जिन्थ्यो। वि.सं २०२८ मा स्थापना भएको नेपालगञ्ज–१३ मा रहेको सरस्वती संगीतालयमा सुरेशराज शर्मा त्यतिबेलाका संगीत गुरु हुनुहुन्थ्यो। सङ्गीत गुरु शर्माको निधनपछि डेढ दशकदेखि बन्द रहेको संगीतालयमा गीतसंगीतका धुन बज्न छाडेका छन्।
संगीतालयको भवन तथा प्रांगणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ। सुमधुर गीत संगीतका धुन गुञ्जिने संगीतालय सुनसान छ। संगीतकार शर्माको अगुवाइमा स्थापना भएको संगीतालयमा द्वन्द्वकालीन समयदेखि नै संगीत गुञ्जिन छाडेको छ। शर्माको निधनपछि संगीतालय अस्तव्यस्त छ।
वि.सं २०५६ मा गठित संगीतालय व्यवस्थापन समितिले काम गर्न नसक्दा संगीतालयमा कुनै संगीत गुञ्जिएको छैन। संगीतालयको भवन तथा प्राङ्गणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ। संगीतालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज शर्मा भन्छन्,‘विगतमा संगीतालयले धेरै संगीतकर्मी सिर्जना गरेको भए पनि अहिले कसैले पनि गुरु स्थललाई फर्केर हेरेका छैनन्।’
नयाँ पुस्ता संगीत सिक्न आकर्षित भए पनि संगीतालय नै बन्द भएपछि संगीतको रौनकमा रम्न चाहने युवा बरालिन थालेका छन्। हार्मोनियममा राम्रो दख्खल भएका नेपालगञ्ज–१० का युवा मिलनप्रकाश श्रेष्ठ भन्छन्, ‘संगीतालय सञ्चालन गर्ने चाहना छ तर संगीतालयको अवस्था जीर्ण रहेको र पुराना सामग्री नभएकाले समस्या देखिएको छ।’
स्थानीयका अनुसार विगतमा जस्तै दर्जनभन्दा बढी संगीत सिक्न पाइने संगीतालय संगीत प्रशिक्षण सञ्चालन भए धेरै युवा कुलतबाट जोगिने र समय बिताउन सजिलो हुने थियो। व्यवस्थापन समितिका अध्यक्ष शर्माका अनुसार आफूहरूले संगीतालय सञ्चालन गर्न धेरै प्रयास गरे पनि कहीँकतैबाट सहयोग नभएकाले व्यवस्थापनमा समस्या भएको हो।
व्यवस्थापन नहुँदा संगीतालयमा रहेका करीब पाँच लाख मूल्य बराबरका सामग्री हराएका छन् भने सामग्री कसले लगेको हो भन्ने पहिचान नभएको अध्यक्ष शर्माले बताए। अहिले संगीतालयको भवनसमेत जीर्ण बनेको छ। वर्षायाममा छतबाट पानी चुहिनुका साथै भवनका भित्ता चर्किएका छन्। द्वन्द्वकालमा बन्द भएको संगीतालय आर्थिक अभावका कारण भत्किने अवस्थामा पुगेको छ।
सरकारी पक्षले समेत बेवास्ता गरेको छ। संगीतप्रेमी युवा संगीत सिक्न आउने गरेको भए पनि संगीतालयको अवस्था देख्दा निराश भएर फर्किने गरेका छन्। त्यसो त गायक अर्जुन मिलन अर्थात् संवैधानिक कानुनका ज्ञाता भीमार्जुन आचार्यले पनि यही संगीतालयबाट सांगीतिक धुनमा ताँदो लगाएका हुन्।
उनले कानूनमा प्रविणता तहको अध्ययन गर्ने क्रममा नेपालगञ्जमा बस्दा यही संगीतालयबाट संगीत सिकेका थिए। नेपालगन्जका संगीतकार दीपक सल्मानी, दिलीप परियार, सीता गुरुङ, कन्हैयासिंह, विनोदसिंह सिन्हाजस्ता साहित्यिक हस्ती पनि यहाँकै उत्पादनभित्र पर्दछन्।
संगीत साधकको सिक्ने थलोका रुपमा स्थापना भएको संगीतालय अहिले एउटा ‘घर’मा परिणत भएको छ। अहिलेको समयमा व्यक्तिगत रुपमा कैयौँ संगीतालय स्थापना भए पनि समुदायको पहलमा स्थापित सरस्वती संगीतालयलाई पुनःसञ्चालन गर्नुपर्ने स्थानीयबासीको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।