काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ यस वर्ष वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई प्रदान गरिएको छ।
ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले गायनतर्फ श्रेष्ठ तथा संगीततर्फ वल्लभलाई सम्मानित गरेका हुन्। सम्मानका साथ नगद ५० हजार रुपैयाँसमेत प्रदान गरिएको छ।
कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई प्रदान गरिएको छ। २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रका स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो।
कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठले भजन शिरोमणि भक्तराज आचार्यसंँगका आफ्नो रोचक प्रसङ्गहरू सुनाउँदै उनै नामको सम्मानबाट सम्मानित हुन पाउँदाको क्षण अविस्मरणीय भएको बताए । बल्लभले संगीतकर्मी आचार्य र रेडियो नेपालको प्रसङ्ग प्रस्तुत गर्दै आचार्य आफूलाई सबैभन्दा मनपर्ने गायक भएको धारणा राखे।
प्रतिष्ठानले केही वर्षदेखि हरेक वर्ष सांगीतिक क्षेत्रमा विशेष योगदान दिने संगीतकर्मीलाई सम्मानित गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।