काठमाडौं– असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो।
बाढी तथा पहिरोमा परी थप दुई जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विपद्मा परेका तथा जोखिममा रहेका नागरिकको उद्धारका लागि प्रहरीले विभिन्न स्थानमा उद्धार टोली परिचालन गरेको छ। हालसम्म ४०७ जनाको उद्धार गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको प्रहरीले जनाएको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र विपद्मा परे तत्काल सुरक्षा निकायलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।