काठमाडौं– काडमाडौं महानगरपालिकाले शहरका पोलहरुमा रहेका अव्यवस्थित तार हटाउने तयारी गरेको छ। महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अव्यवस्थित तारहरु हटाउन सुरु गरिने संकेत गरेका छन्।
तारहरुलाई व्यवस्थित बनाउन र एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसके पनि त्यसबारे सुनुवाइ नभएकाले महानगर आफैं क्रियाशील हुने बालेनको भनाइ छ।
‘समस्यालाई यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ। आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ,’ बालेनले भनेका छन्, ‘शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ। यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ, तर तपाईंहरुले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौँ।’
महानगर प्रमुख शाहले तारका कारण शहर अव्यवस्थित हुनुका साथै आगलागीको जोखिम समेत बढाएको उल्लेख गरेका छन्।
‘शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला। त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन्। भौतिक रुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्,’ बालेनको भनाइ छ, ‘गत वर्ष मात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्याङ्क छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।