काठमाडौं– फिल्म ‘ऐना झ्यालको पुतली’को मुख्य पात्र ‘वसन्त’ कक्षा ९बाट १०मा उक्लिए। यसैवर्ष उनले एसइई दिनेछन्।
विराटचोकस्थित जनता माध्यमकि विद्यालयमा नयाँ सत्र सुरु भएको हप्तादिन मात्र पुगेको थियो। सामाजिक अध्ययन विषयका शिक्षक कक्षाभित्र प्रवेश गरे।
विद्यार्थीहरूले झोलाबाट पुस्तक निकाले। शिक्षकले पहिलो एकाइ पल्टाएर पढाउन थाले। दिनेश ध्यान दिएर सुनिरहेका थिए। अचानक पछाडि बसेका साथी गणेश दनुवारले उनलाई कोट्याए। कानैनिर सुस्तरी बोल्दै भने, ‘ओई हेर त हाम्रो किताबमा तेरो फिल्मको बारेमा छ।’
समसामयिक घटना विषयको पेज न २७९मा ओस्कार अवार्ड २०२२बारे लेखिएको थियो। सन् २०२३को ओस्कार अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ नेपालबाट छनोट भएको थियो। आफूले पढ्ने पुस्तकमा आफ्नै फिल्म र फोटो देखेपछि दिनेश खुसी देखिए।
यो कुरा नजिकका साथीहरूमाझ सुस्तरी फैलियो। तर पढाइरहेको शिक्षकको कानसम्म नपुग्दै घण्टी बज्यो। स्कुल सकेर उनलाई कतिबेला घर पुगूँ जस्तो भयो। किनकि यो खबर आमासम्म पुर्याउनु थियो।
अरुदिन भन्दा छिटो गतिमा दिनेश घर पुगे। भुइँतलामा आमा, ठूलो बा ठूली आमाहरू गफ गर्दै बसिरहेका थिए। ‘ऊ कुद्देर आयो। आउनेबित्तिकै निकै खुसी देखिँदै भन्यो– आज म तपाईंहरूलाई एउटा कुरा देखाउँछु,’ दिनेशकी आमा पवित्रा सुनाउँछिन्, ‘के चाहिँ देखाउन लाग्यो भनेर अचम्म लाग्यो। स्कुलको ड्रेस पनि खोलेको छैन। झोला एकातिर राखेर किताब निकालेर बाहिर ल्यायो। पाना पल्टाएर देखाउँदै भन्यो– हाम्रो किताबमा मेरो फोटो छापिएको छ।’
पाठ्यपुस्तकमा छोराको फोटो र फिल्मबारे लेखिएको देख्दा आमा पवित्रालाई सपनाझैं लायो। ‘स्याबास् बाबु। तैँले धेरै राम्रो गरिस्। अझै प्रगति गर्दै जानू,’ खुसी हुँदै दिनेशका ठूलो बाले भने।
फिल्म ‘ऐना झ्यालको पुतली’मा वसन्तकी दिदी विद्याको कविता मुना पत्रिकामा छापिन्छ। उनीहरूका लागि मुनामा कविता छापिनु खुसीको कुरा थियो। वसन्तले संघर्ष गरेर छापिएको पत्रिका ल्याएर दिदीलाई देखाउँछ।
उसले कविता पढेर सुनाउँदा आमाको आँखा रसाउँछ। ठीक दिनेशको आमाको आँखा पनि त्यतिबेला भरिएको थियो।
डेढ महिनाअघि छोराले अवार्ड पाएको थाहा पाउँदा पनि पवित्राको आँखा रसाए। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड पाएका थिए दिनेशले। आफूले थाहा पाउनेबित्तिकै उनले आमालाई छापिएको खबर मोबाइलमा देखाउँदै भने, ‘तैँले केही गर्दैनस् भन्नुहुन्थ्यो नि। यी हेर्नु।’
५ वर्षअघि संखुवासभामा थियो पवित्राको परिवार। छोरालाई फिल्म खेलाउने भन्दै आएका ‘दाह्रीवाल’ देख्दा सुरुमा त सात्तो गएको थियो पवित्राको। ‘त्यतिबेला बच्चा चोर्ने मान्छे आउँछन् भनेर हल्ला थियो गाउँभरि। सरहरूको दाह्री देखेर डर पनि लाग्यो,’ उनी सम्झिन्छिन्।
बुझ्दै गएपछि स्कुलमा सयौं बच्चाहरूमध्ये आफ्नै छोरा किन रोजे त? पवित्रा विस्तारै सकारात्मक हुँदै गइन्। जब उनीहरू दिनेशलाई पठाउन राजी भए, गाउँभरि हल्ला फैलियो, ‘यिनीहरूले आफ्नै बच्चा बेच्न लागे।’
कतिले त अगाडि मुखै फोरेर भने।
पछि वडाध्यक्षकहाँ पुगेपछि सबै कुरा स्पष्ट भयो। छोरासँगै दिनेशका बा पनि जाने सहमति भएपछि पवित्रा ढुक्क भइन्।
छोराले स्कुलबाट फर्किएर आजकल हरदिन खुसीको कुरा सुनाउँदा पवित्रालाई लाग्दो रहेछ, ‘यो खबर तिनीहरूकै अगाडि सुनाउन पाए हुने नि। जसले हामीलाई बच्चा बेचेको आरोप लगाए। तर के गर्नु हामी अहिले टाढा छौं।’
केही वर्षअघि संखुवासभास्थित घरबाट दिनेशको परिवार तराई झरेको थियो।
०००
कोभिडका केही वर्ष अन्योल र त्रासमा बिते। यो बीचमा फिल्म आउने आशा मारिदिएकी थिइन् पवित्राले।
एकदिन अचानक काठमाडौंबाट फोन आयो। फिल्म लाग्दैछ भन्ने थाहा पाएपछि दिनेश र उनका बा काठमाडौं लागे। पवित्रा भने पहाडघरको अलैँचीबारी गएकी थिइन्।
आफूले टिभी र फिल्ममा देखेका कलाकारहरूसँग छोराको फोटो देख्थिन्। उनीहरूले फोटो खिचाएर माया गरेको कुरा सुन्थिन्। उनी त्यसैमा खुसी हुन्थिन्।
त्यतिबेला छोराको फिल्म हेर्ने औधि रहर थियो पवित्रालाई। तर विराटचोकमा हल थिएन। अहिले त हल पनि खुलेको छ। अरु फिल्म लाग्छन्। अरुले सोध्छन्, ‘छोराको फिल्मचाहिँ किन लाग्दैन?’ उनलाई पनि लाग्दो रहेछ, ‘न लागि पो हाल्छ कि!’
दिनेशका बाबाहेक अरु आफन्तले फिल्म हेर्न पाएका छैनन्। ‘छोराले राम्रो काम गरेको रहेछ,’फिल्म हेरेर दिनेशका बाले सुनाएका कथामा पवित्राले चित्त बुझाएकी छन्।
०००
फिल्मका निर्देशक सुजित बिडारीलले केहीदिनअघि दिनेशको खुसी फेसबुकमा बाँडेका थिए।
दिनेशले पुस्तकमा फिल्मबारे लेखिएको अनुच्छेदको फोटो खिचेर ग्रुपमा पठाएका थिए। तर पुस्तकमा भएको गलत जानकारीले आफू दु:खी भएको पनि उनले भने।
‘हाम्रो चलचित्र २०२३को ओस्कार अवार्डमा नेपालबाट नोमिनेसनमा परेको थियो। तर यहाँको जानकारी ०२२मा परेको जस्तो बुझियो। यद्यपि पाठ्यक्रममा फिल्मबारे मेन्सन हुनु खुसीको कुरा हो,’ सुजितले भने।
दिनेशकी आमा पवित्राको सपना नै छोरालाई पर्दामा देख्नु हो। ‘उसले अझै फिल्महरू खेलेको हेर्न मन छ। अझै त्यो ठाउँमा पुगेको देख्न मन छ,’ पवित्रा भन्छिन्।
अवार्ड जितेपछि कतिपयले सुनाउँछन्, ‘यत्रो अवार्ड जितेको छ छोराले। तर खोजी किन कसैले नगरेको?’ पवित्राको जवाफ छ, ‘अहिले स्कुल पढिरहेको छ। पढाइमा समस्या हुन्छ भनेर होला। त्यसपछि त खोजी भैहाल्ला नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।