काठमाडौं– गुल्मीको सिमिचौरमा निर्माण सम्पन्न रेसुङ्गामा विमानस्थलमा परीक्षण उडान सफल भएको छ। शुक्रबार नेपाल वायुसेवा निगम (एनएसी) को एन–एबीटी जहाजद्वारा उडानको सफल परीक्षण भएको हो।
निगमको ट्वीनिटर जहाजमार्फत क्याप्टेन मनेश विष्टको नेतृत्वमा पाइलट टोलीले रेसुङ्गा विमानस्थलमा सफल उडान परीक्षण गरेका हुन्।
गत पुसमा निर्माण सम्पन्न विमानस्थलमा यसअघि नै तारा एयरको जहाजमार्फत क्यालिबर फ्लाइट गरिएको थियो। शुक्रबारको वायुसेवा निगमको जहाजको परीक्षण उडान नियमित उडानका लागि गरिएको हो।
योसँगै रेसुङ्गा विमानस्थल नियमित उडानका लागि तयार भएको छ। वायुसेवा निगमको ट्वीनीटर जहाजमार्फनै उक्त गन्तव्यमा हप्ताको एक दिन (शुक्रबार) नियमित उडान गर्नेगरी निगमले तयारी गरेको छ। रेसुङ्गा नगरपालिकासँगको समन्वय र सहयोगमा नेपाल एयरलाइन्सले नियमित उडानको तयारी गरेको हो।
काठमाडौँदेखि करिब ५० मिनेटको उडान दुरीमा रहेको रेसुङ्गा विमानस्थलसम्मको हवाई भाडा ६ हजारदेखि ६ हजार ५ सय रुपैयाँसम्म तोकिन सक्ने बुझिएको छ। २०६३ सालमा शिलान्यास भएको विमानस्थलको निर्माण कार्य ८ वर्षपछि २०७१ बाट सुरु भएकोमा २०७५ साल पुसमा सम्पन्न भएको थियो। यद्यपि, उक्त समयमा रेन वे पिंज हुन नसकेकोमा २०७९ मा पिंज भई सफल परीक्षण उडान भएको छ।
एक सय १६ रोपनीमा निर्माण सम्पन्न विमानस्थलको कूल लागत करिब ३३ करोड रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।