काठमाडौं- बेलाबेला विवादमा आइरहने बलिउड एक्टर नवाजुद्दीन सिद्दिकी फेरि अर्को विवादमा फसेका छन्। श्रीमतीसँगको झगडा अदालतसम्म पुगेको घटना सेलाउन नपाउँदै उनलाई एक विज्ञापनमार्फत बंगाली समुदायको भावनामा ठेस पुर्याएको आरोप लागेको छ।
नवाजुद्दीन तथा एक कोल्ड ड्रिंक कम्पनीविरुद्ध पुलिसमा उजुरी दर्ता भएको छ। नवाजुद्दीनले एक नयाँ विज्ञापनमा बंगाली समुदायलाई होच्याएको र यसले उक्त समुदायको भावनामा ठेस पुगेको उजुरीमा उल्लेख छ।
यसका साथै कलकत्ता हाई कोर्टका वकिल दिब्यान बनर्जीले नवाजुद्दीन र एक इन्टरनेसनल सफ्ट ड्रिंक कम्पनी विरुद्ध रिट दायर गरेका छन्।
दिब्यानले आफ्नो रिटमा भनेका छन्, ‘उक्त विज्ञापन हिन्दीमा थियो र त्यसमा हामीलाई केही छैन। हामीलाई विभिन्न टेलिभिजन च्यानल तथा वेबसाइटमा बजिरहेको बंगाली डबिङसँग समस्या हो।’
विज्ञापनमा अभिनेता नवाजुद्दीन एउटा चुट्किलामा हाँसिरहेका छन्। जसमा बंगाली भाषामा भनिएको छ, ‘शोजा अंगुले घी न उठले, बंगाली खली पेटे घुमिए पोरे।’ यसको मतलब हुन्छ- यदि सिधा औंलाले घिउ निस्किएन भने बंगाली भोकै सुत्छन्।
यो कुराले आफूलाई बंगाली समुदायको भावना आघात पुगेको महसुस भएर रिट दायर गरेको दिब्यानले बताएका छन्।
रिट तथा सर्वत्र विरोध भएपछि कम्पनीले नवाजुद्दीनको विज्ञापनको बंगाली भर्सन सबै प्लेटफर्मबाट हटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।