काठमाडौं - अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा एक वर्ष ढिलो हुने भएको छ।
२०७४ पुसभित्र निर्माण सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको सो आयोजना ठेकेदार कम्पनीको लापरवाहीका कारण एक वर्ष लम्बिने भएको हो । विमानस्थल निर्माणको काम २०७१ माघ १ गतेबाट निर्माण थालिएको थियो।
‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामक चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र स्थानीय नेपाली ठेकेदारबीचको विवादका कारण झन्डै आठ महिना विमानस्थल निर्माणको काम रोकिएको थियो।
हालसम्म विमानस्थलको भौतिक प्रगति ३२ प्रतिशत तथा वित्तीय प्रगति २३ प्रतिशत छ । भौतिकतर्फ बाँकी ६८ प्रतिशत काम गर्न जम्मा आठ महिनाको समय छ । निर्माण सामग्रीको सहजता भएमा अबको एक वर्षभित्र विमानस्थल निर्माणको मुख्य काम सकिने विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए।
विमानस्थल निर्माणका लागि अहिले १० लाख घनमिटर अर्थात् झन्डै साढे एक लाख ट्रक माटो चाहिन्छ । चिनियाँ ठेकेदार कम्पनीको लापरवाहीका कारण विमानस्थल निर्माणमा ढिलाइ भए पनि पछिल्लो समय सो कम्पनीले काम राम्ररी अघि बढाएको शर्माको दाबी छ।
'कम्पनीले गरेको कामको कार्यशैली हेरेर बरु केही महिना समय बढाएर भए पनि यही कम्पनीलाई निरन्तरता दिने योजनामा छौं', उनले भने।
चिनियाँ कम्पनीले काममा ढिलाइ गरेपछि बीचमै ठेक्का तोडेर नयाँलाई दिने वा पुरानैलाई चेतावनीसहित सक्रिय गराउने भन्नेमा अन्योल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई महिनाअघि चेतावनीयुक्त निर्देशन दिँदै चिनियाँ कम्पनीलाई काम अघि बढाउन भनेको थियो।
दुई महिनाको प्रतिवेदन आइसकेको र पहिलाको भन्दा सन्तोषजनक काम गरेको पाइएकाले अहिलेकै कम्पनीलाई अघि बढाउने मनस्थितिमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) रहेको छ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सोमबारको बैठकमा क्यानका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलको काम पछिल्लो समय सन्तोषजनक रहेकाले अझै उसको कामको प्रगति हेरेर मात्रै निर्णयमा पुगिने बताए।
समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रगति सम्बन्धमा पर्यटनमन्त्री, विभागीय प्रमुख र मातहत निकायका प्रमुखसँग छलफल गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।