काठमाडौं- ललितपुर महानगरपालिकाको हस्तक्षेपपछि सेन्ट जेभियर्स स्कुलले गोलाप्रथामार्फत विद्यार्थी छनोट गरेको छ। ललितपुरको जावालेखस्थिल सेन्ट जेभियर्स स्कुललाई भर्ना प्रक्रयामा एकरुपता ल्याउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको थियो।
स्कुलले नेपाल जेसुइत सोसाइटीबाट सिफारिस भएर आएका विद्यार्थीलाई भर्ना गरिसकेपछि मात्र अन्यलाई लिने नीति लिएको भन्दै ललितपुर महानगरपालिकाले एकरुपता ल्याउनका लागि हस्तक्षेप गरेको थियो।
महानगरको हस्तक्षेपपछि सेन्ट जेभियर्सले गत चैत ४, ५, ६, र वैशाख ९ गते उक्त विद्यालयमा शैक्षिक सत्र २०८० कक्षा १ मा नयाँ भर्नाको लागि लिइएको अन्तर्क्रियामार्फत छनोटमा परेका विद्यार्थीहरूलाई गोलाप्रथाद्वारा भर्नाको अन्तिम नामावली प्रकाशन गरेको छ।
सेन्ट जेभियर्सले दलित समुदायका लागि ५ प्रतिशत, सीमान्तकृत एवं विपन्नलाई १० प्रतिशत, अल्पसंख्यक समुदायलाई १०, अध्ययनरत विद्यार्थीका सहोदर भाइबहिनीलाई १०, पूर्वविद्यार्थीका छोराछोरीलाई १०, ललितपुर वडा नम्बर ४ बाट सिफारिस भएकालाई ५ र ललितपुर महानगरभित्रका स्थायी बासिन्दालाई १० प्रतिशत कोटा छुट्याएको थियो। बाँकी ४० प्रतिशत भर्ना खुला प्रतिस्पर्धाबाट लिँदै आएको थियो। तर महानगरपालिकाले स्वस्थ प्रतिस्पर्धामार्फत भर्ना गर्न विद्यालयलाई निर्देशन दिएसँगै गोलाप्रथाद्वारा विद्यार्थी छनोट गरिएको हो।
ललितपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत(दशौं) महेन्द्रबहादुर क्षेत्रीले स्वस्च्छ प्रतिस्पर्धामार्फत ल्याउनका लागि महानगरपालिकाले उक्त निर्देशन दिएको बताए। उनले भने, ‘भर्नाका लागि फारम भरेका सम्पूर्ण विद्यार्थीहरुलाई गोलाप्रथामार्फत भर्नाका लागि छनोट गरिएको हो। तीन वर्षदेखि गोलाप्रथा हुँदै आएको छ। विद्यालय र महानगरपालिकाबीच समझदारी गरेर अहिले सुधार ल्याएका छौं।’
उनले महानगरपालिकाले पाउने १५ प्रतिशतका लागि १५ जना फिक्स भएको भए पनि त्यसलाई समेत क्विट गरेर खुलामा लगेको दाबी गरे। समावेशी बाहेक सम्पूर्ण विद्यार्थीलाई गोलाप्रथाद्वारा छनोट गरेको बताए। महानगरपालिकाले आगामी दिनमा थप मापदण्ड बनाएर अघि बढ्ने क्षेत्रीले जानकारी दिए। सेन्ट जेभियर्स स्कुलले कक्षा १ मा १७० जना विद्यार्थी भर्ना लिने गरेको छ।
गोलाप्रथाद्वारा छनोट भएका विद्यार्थीलाई आगामी १५ गते भित्र भर्ना गरिसक्न विद्यालयले सूचित गरेको छ। कुल आवेदनकर्ता ७ हजार ६१९ मध्ये १७० जना छनोट भएको विद्यालयले जनाएको छ।
छनोटमा परेका विद्यार्थीहरुले यही वैशाख १५ गते दिनको ३ बजेको अवधिभित्र भर्ना भइसक्न विद्यालयले सूचित गरेको छ। उक्त दिनभित्र विद्यार्थी भर्ना हुन नआएको खण्डमा वेइटिङ लिस्टमा रहेका विद्यार्थीहरुले भर्ना गर्न पाउने भएका छन्। वेइटिङ लिस्टमा छात्रहरु ६ जना र छात्रा ४ जना रहेको सूची समेत प्रकाशन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।