बैंकक– गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको महिला फोरमले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न हालै नेपालको संसदमा प्रस्तुत मस्यौदा विधेयक अपूरो रहेको भन्दै यसमा सुधार गर्न संसद र सरकारको ध्यानाकर्षण गरेको छ।
संघले आइतबार अन्तरक्रिया कार्यक्रम गर्दै नागरिक ऐनको यस मस्यौदाले गैरआवासीय नेपाली महिला र पूराना पुस्ताका गैरआवासीय नेपालीहरूका मागहरू नसमेटिएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गरेको हो। कार्यक्रममा संसद निरु पालले एनआरएनए थाइल्याण्डले नागरिकताको विषयमा उठाएका मागहरू जायज भएको बताइन्। उनले यसमा सकारात्मक परिणाम ल्याउनका लागि आफूले सक्दो पहल गर्ने बताइन्।
पूर्वमन्त्री भगवती चौधरीले नागरिकताका सम्बन्धमा गैरआवासीय नेपालका माग र चासोलाई सरकार र संसदसम्म पुर्याउने बताइन्। एनआरएनए थाइल्याण्ड महिला फोरमकी संयोजक मेघा चन्दले नागरिकता ऐनको हालको मस्यौदामा विदेशमा रहेका नेपाली चेलीहरूका छोराछोरीलाई पनि आमाको नाममा नागरिकता दिने प्रस्ट व्यवस्था गर्नुपर्ने माग राखिन्। त्यस्तै, दोस्रो विश्व युद्धताका बर्मा हुँदै थाइल्याण्ड र मलेसिया पुगेर बसोबास गर्दै आएका दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूको बारेमा प्रस्तावित मस्यौदा मौन रहेको भन्दै उनले यस विषयलाई पनि प्रस्तावित ऐनमा प्रस्टरुपले समेट्न नेताहरूलाई आग्रह गरिन्।
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61456500.jpg)
![Ncell 2](https://nepallive.net/uploads/bigyaapan/61475300.jpg)
थाइल्याण्ड र मलेसियामा बस्दै आएका नेपालीहरूसँग पुख्र्याैली कागजहरू नभएकाले नेपाली नियोग र स्थानीय गैरआवासीय नेपाली संघको सिफारिसमा गैरआवासीय नागरिकता दिने व्यवस्था गर्न चन्दले लिखित सुझावसमेत दिए ।’समृद्व नेपालका लागि गैरआसीय नेपालीका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा नेपाल पोलिसी इन्ष्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले विश्वभरी छरिएर रहेका नेपाली विशेषज्ञहरूले नेपालको विकासका लागि अनुसन्धान गरी अल्पकालीन र दिर्घकालिन वैकल्पिक नीतिहरू उपलब्ध गराएर सहयोग गर्न एनआरएनएले भर्खरै पोलिसी इन्स्टिच्युटको स्थापना गरी अगाडि बढेको जानकारी गराए।
किङ्ग मङ्ग्कुट विश्वविद्यालयमा प्राध्यापक ढकालले नेपालको आर्थिक समृद्दिको लागि नेपाल बाहिर रहेका नेपालीहरू आर्थिक कुटनीतिको प्रवद्र्धन, ज्ञान, प्रविधि र सीप हस्तान्तरण गर्न पनि सक्षम र इच्छुक रहेको बताए। गैरआवासीय नेपाली संघ थाइल्याण्डका सल्लाहकार अमृत श्रेष्ठले व्यापार र लगानी प्रवद्र्धन गर्न एसियाका विभिन्न देशहरूमा भएका राम्रा अभ्यासहरू गैरआवासीय नेपालीमार्फत नेपाल सरकारले उपयोग गर्नसक्ने बताए।
एनआरएनए थाइल्याण्डका अध्यक्ष अस्सजित अवालेले नेपालको पर्यटनमा थाइल्याण्ड एउटा ठूलो सम्भावना रहेको बताए। पर्यटकको सुविधाको लागि नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थानीय विमानस्थलमा छोटो हिँडेर जान मिल्ने बाटो खोल्न उनले सुझाव दिए।
एनआरएनए थाइल्याण्डका महासचिव रवि महर्जनले एनआरएनए थाइल्याण्डले स्थानीय नागरिक अभियानसँगको साझेदारीमा गोरखा र दोलखाका ४० जना भूकम्प पीडित एवं उपेक्षित विद्यार्थीलाई १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति परियोजना सुरु गरेको बताए ।कार्यक्रममा एनआरएनए थाइल्याण्डका संरक्षक डेविड खनाल, सल्लाहकारहरू भारती लिम्बुनी, कुमार कार्कीले प्रवासमा रहेर पनि नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न सफल भएको बताए।
एनआरएनए थाइल्याण्डका उपाध्यक्षहरू महेन्द्र श्रेष्ठ, भविन्द्र बस्नेत, सागर लामा, कोषाध्यक्ष कान्छा गाबो गुरुङ, सहसचिव केशव आचार्य, कार्यकारी सदस्य अतिस श्रेष्ठ र एनआरएनए थाइल्याण्डका प्रतिनिधिहरूले अन्तरक्रियामा भाग लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।