भैरहवा– रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ५ का ८० वर्षीय मनिराम बटेठाले विकासको कुनै अनुभूति गर्न सकेका छैनन्। आठ दशकको जीवनयात्रा मर्चवारमा बिताएका उनले न त घरअगाडिको बाटो कालोपत्रे देख्न पाए, न त गाउँको शैक्षिक स्तर नै सुध्रिएको देख्न पाए। खाली अनुभव मात्रै सम्हाले गरिबीको। महसुस गरे त केवल पीडा मात्र। उमेरले ‘डाँडामाथिको जून’जस्तै भएका बटेठा आफूले अनुभूति गर्नेगरी विकास भएको देख्न चाहन्छन्।
पञ्चायतदेखि संघीयतासम्म राजनीतिक परिवर्तनले फड्को मारेको देखेका उनले मर्चवारमा विकासका गतिविधि भने ‘ज्यूँका त्यूँ’ भएको जस्तो लाग्छ। भन्छन्, ‘म जान्नेबुझ्ने भएदेखि अहिलेसम्म सामान्य गोरेटो सडक र बिजुलीका पोलमा तार झुन्डिएको बाहेक अरू विकास देखेको छैन, जस्ताको तस्तै छ मर्चवार। पञ्चायतकालमा शासकहरूले जनतामाथि अत्याचार र दमन गर्थे तर संघीयतासम्म आइपुग्दा त्यो चाहिँ हटेको छ, विकास भएको छैन।’

पञ्चायतकालदेखि संघीयतासम्म अत्याचार र दमन हटे पनि मर्चवारको विकास भने पञ्चायतकालभन्दा खासै फरक छैन।
मर्चवार रुपन्देहीको अविकसित क्षेत्रको रुपमा चिनिन्छ। मर्चवारका नाममा वर्षौं राज गरेका ‘शासक’का कारण नै मर्चवार क्षेत्रपछि परको स्थानीयको ठम्याइ छ। ‘गाउँगाउँमा सिंहदरबार’को नारा लिएर मत मागेका जनप्रतिनिधि निर्वाचित भएपछि गाउँगाउँमा आउने भनिएको सिंहदरबार अझै कहाँ छ भनेर जनताले अनुभूति गर्न पाएका छैनन्। ‘जनप्रतिनिधि जनताको सेवक हुन्, उनीहरूले त्यसैअनुरूप जनताको सेवा गर्नुपर्छ तर यहाँ सबै आफ्नै सेवा र सुविधामा अल्झिरहेका छन्’ बटेठाले भने।
जनताको सेवा गर्ने भन्दै मत मागेका जनप्रतिनिधि निर्वाचित भएका छन्। तर उनीहरूको ‘दरबार’मा धाउँदा समेत सेवा प्रभावकारी नभएको गुनासो स्थानीयको छ।
मर्चवार कृषि क्षेत्र हो। यस क्षेत्रका बासिन्दा खेतीकिसानी गरेर नै जीवनकोपार्जन गर्दै आएका छन्। मर्चवारमा तीन वटा स्थानीय तह छन्। साबिकका १६ वटा गाविस भएको यो क्षेत्रमा कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका पर्छन्।

‘हामी किसान हौं। खेती किसानी गरेर हामीले आफ्नो जीविका चलाएका छौं। तर सिँचाइका लागि एउटा बोरिङ मेसिन माग्दासमेत पाइँदैन। के यही हो त गाउँगाउँमा आएको सिंहदरबारको सुविधा?' बटेठाले प्रतिप्रश्न गरे।
मर्चवारवासीका अनुसार यस क्षेत्रमा विकासका सम्भावना धेरै छन्। यहाँ शक्ति र सत्ताका लागि मात्र विकास बजेट विनियोजन हुने गरेको स्थानीयले आरोप लगाए। मर्चवारमा रहेका तीन वटै स्थानीय तहमा समस्या उस्तै छ।
मर्चवारकै मुन्नी हरिजनको पनि उस्तै गुनासो छ। खेतीकिसानीले जीविकोपार्जन चलाउँदै आएको उनको परिवारलाई गाउँमा आएको सिंहदरबार शासनसत्ताले देख्दैन। मर्चवारपारि भारत पर्छ। ‘किसानका लागि सरकारले राहत स्वरुप बोरिङ मेसिन लगायतका सेवासुविधा दिने गरेको छ,’ उनले भनिन्, 'तर हाम्रै गाउँ टोलका स्थानीय सरकारले थप सेवा सुविधा दिन सकेका छैन। खाली आशाको पहाड मात्र सिर्जना गरिदिन्छ।'

जनप्रतिनिधि नै अशिक्षित
वडामा रहेको अधिकांश जनप्रतिनिधि अशिक्षित हुदाँ मर्चवारले आशा अनुसार विकास गर्न नसकेको हो। अधिकांश जनप्रतिनिधि घरमा चुलोचौको र भैँसी चराउने काममा व्यस्त हुन्छन्। स्थानीयको समस्या समाधानबारे ध्यान छैन उनीहरुलाई।
अशिक्षाकै कारण मर्चवारका जनप्रतिनिधिबीच नै अनावश्यक तिक्तता बढ्दै गएको छ। यसले विकासमा प्रत्यक्ष असर पारेको जानकारहरू बताउँछन्।
विगतमा मर्चवारमा राज गरेका शासकहरूका कारण नै मर्चवार पछाडि परेको प्रदेश ५ का सांसद अष्टभुजा पाठक बताउँछन्। पञ्चायतकालदेखि नै शासन गरेका र विकासका लागि पटकपटक मर्चवारवासीले सत्ता पुर्याएका नेताकै कारण मर्चवार अझसम्म पनि अविकसित क्षेत्रका रुपमै परिचित रहेको उनले दाबी गरे।
'मर्चवारबाट निर्वाचित भएका व्यक्ति शिक्षामन्त्री हुँदासमेत मर्चवार क्षेत्रका लागि एउटा डिग्री कलेज समेत सञ्चालनमा ल्याउन सकिएन। यो ठूलो दुर्भाग्य हो,’ सांसद पाठकले भने, 'जनता शिक्षित भए आफ्नो राजनीति धरापमा पर्ने राणाकालीन मनोवृत्तिले उनीहरुले विकास गरेनन्।'

जनताले अनुभूति गर्नेगरी विकास गर्छौं : गाउँपालिका अध्यक्ष
मर्चवार क्षेत्रका तीन वटै स्थानीय तहका अध्यक्षहरुले मर्चवारको विकास विस्तारै भइरहेको दाबी गर्छन्। उनीहरुले विगतभन्दा मर्चवार विकासका दृष्टिले फड्को मारेको उल्लेख गर्दै जनताले अनुभूति गर्ने गरी विकासले गति लिने बताउँछन्।
सीमित बजेटका कारण जनताले आशा गरे अनुसार विकास गर्न नसकिएको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले बताए। गाउँपालिकाका थुप्रै योजना भए पनि बजेट अभावका कारण १०/१५ वटा योजना मात्रै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। स्थानीयको समस्या र गुनासा जायज रहेको भन्दै उनले मर्चवारको विकासको पहिलो खुड्किलो शिक्षा रहेकाले अन्य क्षेत्रभन्दा शिक्षामा बढी लगानी गरिएको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।