काठमाडौं– महोत्तरीमा भएको आगलागीले १० वटा घर जलेर नष्ट भएका छन्। जिल्लाको मटिहानी नगरपालिका–६ जहरलवामा आइतबार दिउँसो आगलागी भएको थियो।
आइतबार दिउँसो स्थानीय गफार शेषको घरबाट सुरु भएको आगलागीमा सोही बस्तीका सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर गरी १० घर जले मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए।
खाना पकाउने क्रममा आगो सक्लिँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट ३० लाख रुपैयाँसम्मको क्षति भएको प्रहरीले जनाएको छ।
आगोले घरसहित लत्ताकपडा, खाद्यान्न समेत जलेर नष्ट भएको छ। आगलागी पीडितलाई मटिहानी नगरपालिकाले तत्काल केही खाद्यान्न र राहत सामग्री वितरण गरेको मेयर मण्डलले जानकारी दिए।
मटिहानी नगरपालिकामा वारुणयन्त्र (दमकल) नहुँदा समयमै आगो नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाइ छ। आगो निभाउन जलेश्वर नगरपालिकाबाट दमकल मगाइएको थियो।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको प्रयासबाट करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।