सप्तरी– विगत पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ। अचानक बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको हो। गर्मीका कारण दैनिक कामकाजमा कठिनाइ हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारिरहेको छ।
सप्तरीसहित तराईका जिल्लाहरुमा बैशाख लागेसँगै एक्कासी मौसम बदली भई अत्यधिक गर्मी बढेको छ। गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ।
बिहान ७ बजेदेखि नै चर्को घाम लागेपछि सामान किनमेल गर्न आउनेहरुको संख्या घट्दो छ। दिउँसो बजारमा मानिसहरुको चहलपहल अत्यन्त कम हुने गरेको छ। गर्मीका कारण दैनिक कामकाज गर्न समेत कठिनाई भईरहेको स्थानीय राजकुमार ऋषी बताउँछन्।
सप्तरीमा अहिले दैनिक तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियससम्म रहेको छ। गतवर्षहरु भन्दा यसवर्ष वैशाखको सुरुमै गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन्।
गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको दैनिक ज्यालामा काम गर्ने मजदुर बताउँछन्।
त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह लगायतका अस्पतालहरुमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ। अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, झाडापखालाका बिरामीहरु भर्ना भइरहेका छन्। भर्ना भएका बिरामीहरुमध्ये बालबालिका, वृद्धवृद्धाहरु बढी प्रभावित भएको अस्पताल आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।