काठमाडौं– अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका भारतीय पर्वारोही अनुराग मालुको जीवितै उद्धार भएको छ। ३४ वर्षीया मालु सोमबार बिहानदेखि बेपत्ता थिए।
३ दिनको उद्धार प्रयासपछि मालुलाई जीवितै फेला पारिएको सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा लामाले जानकारी दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
जीवितै फेला पारिए पनि मालुको अवस्था भने गम्भीर रहेको मिङमाले जानकारी दिएका छन्। ‘मालुलाई अहिले पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ,’ शेर्पाले भनेका छन्।
क्याम्प थ्रीबाट झर्ने क्रममा मालु गहिरो खोंचमा खसेका थिए। पर्वतारोही मालुले गत वर्ष आमा दब्लम हिमालको सफल आरोहण गरेका थिए।
यसअघि मंगलबार २ जना भारतीय पर्वतारोही बलजीत कौर र अर्जुन वाजपेयीको पनि अन्नपूर्ण हिमालबाटै जीवितै उद्धार गरिएको थियो। क्याम्प फोरबाट हराएकी कौरको ७ हजार ३६३ मिटर क्षेत्रबाट जीवितै उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।