काठमाडौं– काठमाडौं महानगरपालिका लगायत १८ पालिकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटको ककनी गाउँपालिका तथा धादिङको धुनिवेशी नगरपालिकाले स्थानीयसँग गरिएको सहमतिअनुसार माग पुरा गर्न १५ दिनको अल्टिमेटम दिएका छन्।
बञ्चरे डाँडा र सिसडोल डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका तथा धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधबीच २०७९ जेठ २३ गते सहमति भएको थियो। यस्तै, काठमाडौं महानगरपालिका र धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरुबीच २०७९ जेठ २६ अर्को छुट्टै सहमति भएको थियो।
१ वर्ष अगाडि भएको सहमतिका बुँदाहरुको कार्यान्वयन अहिलेसम्म नभएको भन्दै ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले सहमति कार्यान्वयनका लागि १५ दिने अल्टिमेटम दिएका हुन्।
फोहोर मैला व्यवस्थापनका लागि वैज्ञानिक तथा प्राविधिक विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने दुवै पालिकाले माग गरेका छन्।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा ककनी र धुनिवेशीका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्ने माग गरिएको छ।
फोहोर मैला व्यवस्थापनका क्रममा सिसडोलमा हालसम्म गरिएका वातावरणीय प्रभाव मूल्याङ्कन, कार्यान्वयनको अवस्था र कुन निकायबाट मूल्याङ्कन गरिएको हो सोको जानकारी गराउन पनि विज्ञप्तिमार्फत् माग गरिएको छ।
ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका वडाहरुमा १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न बजेट विनियोजन हुनुपर्ने पनि विज्ञप्तिमा माग गरिएको छ।
आफूहरुका माग १५ दिनभित्र पूरा नभए संघर्ष गर्न बाध्य हुने दुवै पालिका प्रमुखद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।