काठमाडौं– नेपाल वायुसेवा निगमले तीन वटा साना जहाज खरिदका लागि कार्ययोजना अघि बढाएको छ।
दुर्गम क्षेत्रका आमजनताको ठूलो मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने तीन वटा साना जहाज खरिद गर्न लागेको हो। जसका लागि कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेस गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
‘यस कार्यमा विशेष पहल गरी यथाशक्य छिटो त्यस प्रकारका जहाज खरिद कार्य सम्पन्न गर्नका लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन श्री सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ’, उनले भनेका छन्, ‘उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको छ।’
यी जहाजहरू निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको उनले बताए। निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने उनको दाबी छ।
साथै, पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडादर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास रहेको उनले बतााए।
यसबाट आफ्नो राष्ट्रिय र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।