साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्र हुन् सकम्बरी। त्यही पात्रको नाममा गायक प्रकाश सपूतले बैशाख १ गते नयाँ गीति भिडियो सार्वजनिक गरे।
यतिबेला युट्युबको ट्रेन्डिङमा देखिएको यो गीति भिडियोले बहस सिर्जना गरिरहेको छ। गाउँकी फूलमाया सहरमा कसरी ‘सकम्बरी’ बनिन्? मुख्य कथा यही हो।
तर सपूतले फूलमाया सकम्बरीमा रुपान्तरण हुँदाको जुन भाष्य स्थापित गर्न खोजे, त्यो आलोचित छ। समाजको चेतना बदल्न वा सामाजिक परिवर्तनका लागि मानिसलाई डोहोर्याउने सशक्त माध्यम सिर्जना हो। उसो त गीत संगीतले मानिसलाई छिटो प्रभाव पार्छ।
महत्वपूर्ण आन्दोलनमा जनवादी गीत सुनेरै जनताहरू जागेका दृष्टान्त हामीसँग थुप्रै छन्। यदि गीत संगीतलाई गलत हतियारका रुपमा प्रयोग गरियो भने के हुन्छ? कलाको बाहनामा मुद्दा वा विषयलाई गलत व्याख्या गरियो भने के हुन्छ? प्रकाश सपूतको श्रव्यदृश्य सामग्री ‘सकम्बरी’ हेर्दा यो भान भइरह्यो।
दृश्य कथामा गाउँकी फूलमाया सहर आएकी छन्। उनी मोडल बन्न र पैसा कमाउन चाहन्छिन्। रेस्टुराँमा वेटरको रुपमा काम गर्ने क्रममा धनी मानिसहरूसँग उनको सामिप्यता बढ्छ। उनले पैसाका लागि उनीहरूलाई शरीर सुम्पन्छिन्।
कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो
नाकमा बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु, हातमा सुनको चुरा
तिम्लाई कल्ले किन्दियो?
फूलमाया फूलमाया...
गीतको स्थायी र कथाको तात्पर्य हो कि– मोडल बन्न र पैसा कमाउन गाउँबाट सहर आउने युवतीहरूले यही नियती व्यहोर्नुपर्छ।
कानमा झुम्का, नाकमा बुलाकी कसले किन्दियो भनेर प्रश्न गर्ने सपूतले समाजको संकुचित दायराबाट महिला चरित्र नियाँलेका छन्।
एउटी युवतीले नाकमा झुम्का, कानमा बुलाकी, हातमा चुरा, खुट्टामा पाउजु लगाउनु वा स्कुटर चढेर हिँड्नु समाजको लागि प्रश्न र सन्देहको विषय हो? रेस्टुराँमा काम गर्ने महिला कति छन्? मोडलिङ वा अन्य क्षेत्रमा काम गर्ने महिलाको संख्या कति छ? सपूतको गीतले उनीहरूको मिहिनेत, क्षमता र परिश्रमको कमाइको धज्जी सजिलै उडाइदिएको छ।
हाम्रो समाजको संरचना नै पितृसत्तात्मक छ। जस्तो कि एउटा पुरुष छोटो समयमै आर्थिक रुपमा सबल हुन्छ, उसको आम्दानी राम्रो हुन्छ भने उसले उन्नति गरेको ठहरिन्छ। क्षमताको प्रशंसा हुन्छ। तर महिलाको हकमा त्यो लागू हुन्न। उसले छोटो समयमै आत्मनर्भिर भएर राम्रो कमाइ गर्दा सन्देहकै विषय हुन्छ। चरित्रमाथि टिकाटिप्पणी हुन थाल्छ। संकुचित समाजको यो स्वभावलाई सपूतको गीतले प्रशय दिएको छ।
गीतका शब्दहरू महिलाद्वेषी छन्। जसले उनीहरूको चरित्रमाथि प्रहारमात्र गरेका छन्। समाजको पितृसत्तालाई सपूतले सोच्न दिएका छन्, ‘रातमा अबेर महिलाहरू घर आउनु शंकास्पद हो।’
महिलाको वैयक्तिक स्वतन्त्रतामाथि अंकुश लगाउन उनले हौसला बाँडिरहेका छन्।
भिडियोमा ‘सकम्बरी’लाई परिबन्धमा पारिएको छ। उनी सजिलै त्यो परिबन्धलाई स्वीकार गरिरहेकी छन्। उनको उच्च महत्वाकांक्षाले गलत बाटोलाई स्वीकार गरिरहेको छ। उनले ‘रंगिन रंगिन रहर सजाउन धर्म मास्ने जहर’ पिइरहेकी छन्। कथाको भाव यही हो।
समाजमा लैंगिक विभेदको पर्खालले महिलाहरूले पुरुषको तुलनामा बढ्ता संघर्ष गर्नुपर्ने कुरा यथार्थ हो। ‘एन्टागोनिस्ट’ चरित्रका पुरुष हरेक क्षेत्रमा हुन्छन्। तर सपूतले गीतमा महिलालाई कमजोर पात्रका रुपमा बेचेका छन्। सब घटनाको जिम्मेवार युवतीको जवानीमाथि बोकाइरहेका छन्।
सरकारी तथ्यांकअनुसार नेपालमा ५० हजार भन्दा बढी महिला यौनकर्ममा सहभागी छन्। अन्य पेसासरह यो पेसामा सहभागी महिलाहरू पनि सम्मानित हुनुपर्छ। गीतमा प्रकाश सपूतले यौनकर्ममा संलग्न महिलालाई ‘अपराधी’ करार गरिदिएका छन्।
अन्तरा छ–
रस गालैको सुकिजानेछ
आफ्नै आत्माले थुकिजानेछ
भिडियोमा एउटा पात्रको डाइलग छ, ‘बाध्यता पर्यो भनेर जे पनि गर्ने, इज्जतै फाल्ने। पाप लाग्ला।’ यौनकर्मलाई पाप र अपराधसँग जोड्ने सपूतको गीतले यो कर्ममा सहभागी महिलाहरूको आनत्मसम्मानमा चोट पुर्याएको छ। भिडियोमा ‘सकम्बरीको ‘सबैलाई पाप लाग्छ’ भन्ने क्रममा स्वीकारोक्ति छ, ‘सायद पाप मलाई पनि लाग्छ।’
पाप र धर्मको निसाफ बोल्दै सपूत गीतमा गायक भन्दा बढी ‘चाणक्य’ सुनिन्छन्। कला पक्ष फितलो छ गीतको। मानिसका आग्रह पूर्वाग्रह थुपारेर राम्रो सिर्जना कसरी बन्ला?
फूलमायालाई ‘शिरिषको फूल’को विम्बका रुपमा टिप्न खोजेका छन्। तर बरीको मनोविज्ञान अध्ययन गरेको देखिन्न। ‘सकम्बरी’को अस्तित्व नजिक पुगेको देखिन्न।
नाममात्र ‘सकम्बरी’ राखेर कथित आदर्श गीतमा भट्याउँदैमा कहाँ सिर्जना बलियो बन्छ र? त्यसमाथि उनी हिन्दी फिल्म ‘डर्टी पिक्चर’ र ‘डर्टी पोलिटिक्स’को ह्याङओभरबाट बाहिर निस्केका छैनन् झैं लाग्छन्।
‘सकम्बरी’को राजनीतिक करिअरलाई सस्पेन्स राखेर नयाँ सामग्री पनि ल्याउने धुनमा छन् प्रकाश सपूत। अब दोस्रो भागमा ‘सकम्बरी’लाई सुधार्ने हुन् कि आफूलाई? त्यो भने हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।