काठमाडौं– चार्ली च्याप्लिनको नाम सुन्ने वित्तिकै जो कसैको अनुहारमा हाँसो खुल्ने गर्छ। जीवनमा थुप्रै दुःख खेपे पनि उनी आफ्नो अद्भूत कलाले मानिसलाई हसाउने गर्थे। यिनै चार्ली च्याप्लिनको १६ अप्रिल, अर्थात् आजकै दिन १३४औं जन्म जयन्ती हो।
चार्लीको वास्तविक नाम चार्ल्स स्पेन्सर च्याप्लिन हो। उनले आफ्नो पूरा जीवन मानिसलाई हसाउने कुरामा केन्द्रित गरे।
चार्लीको जन्म १६ अप्रिल १८८९ मा लण्डनमा भएको थियो। उनले कमिक अभिनेता तथा निर्देशकको रूपमा आफूलाई उभ्याएका थिए। उनका बुवाको निधन उनी सानो हुँदा भएको थियो। यसपछि उनले चरम आर्थिक समस्या भोग्नु पर्यो।
सानै उमेरदेखि उनले घरको जिम्मेवारी उठाउनु पर्यो। उनको बुवा राम्रो अभिनेताका साथै नाम चलेका गायक थिए। आमा हन्ना च्याप्लिन पनि गायिका तथा अभिनेत्री थिइन। त्यसैले चार्लीले अभिनय कला आफ्नो ‘आमाको कोखबाटै’ सिकेर आएका थिए।
आमा बिरामी भएपछि उनले घर चलाउन १३ वर्षको उमेरमा अभिनय सुरु गरे। करिब १ वर्ष सानोतिनो रोल गरेका चार्लीले छोटो समयमा एउटा नाटकमा मुख्य भूमिका प्राप्त गरेँ। उनको अभिनयको खुब चर्चा भयो।
संवादविहीन फिल्मको सबैभन्दा प्रभावशाली कलाकार चार्लीलाई नै मान्ने गरिन्छ। उनको रचनात्मक कलाको विश्वव्यापी प्रभाव परेको छ। उनले आफ्नो फिल्ममा निर्देशन दिनुको साथै पटकथा र संगीत पनि आफैले तयार पार्थे।
सन् १९४० मा चार्लीले जर्मनीका तानाशाह हिटलरमाथि एउटा फिल्म तयार पारेका थिए। जसको नाम थियो, ‘द ग्रेट डिक्टेटर’। यो फिल्मको मुख्य भूमिका अर्थात हिटलरको अभिनय उनैले गरेका थिए। हिटलरलाई ‘कमिक क्यारेक्टर’ मा ढाल्ने उनको अभिनयको खुब प्रशंसा भएको थियो।
उत्कृष्ट अभिनय र मानिसलाई हसाउने उनको विलक्षण कलाका कारण चार्लीलाई १९७३ मा ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो। उनको निधन २५ डिसेम्बर १९७७ मा ८८ वर्षको उमेरमा भयो।
उनलाई अहिले पनि बेजोड अभिनयका लागि विश्वले चिन्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।