काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरेपछि कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिवाद गरेका छन्।
शून्य समयमा बोलेका सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड केही दिनअघि संसद् भवनमा झुलुक्क देखिएको र हाल आउनै छाडेको उल्लेख गरेका थिए। ‘उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला,’ उनको भनाइ थियो।
आफ्नो पालो आएपछि बोलेका कांग्रेस सांसद खतिवडाले आज (आइतबार) ३ बजे मन्त्रीको सपथ ग्रहण भएको भन्दै सूचना गर्ने सांसदलाई त्यहाँ उपस्थित हुन अनुरोध गरेका थिए।
यस्तो छ पन्तको सूचनाः
नागरिकताको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरिइराख्ने। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले कोट प्यान्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने। उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ। धन्यवाद।
रामहरि खतिवडाको प्रतिवाद:
भर्खरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो। आज ३ बजे शपथ ग्रहण छ भन्ने सुनेको छु। सूचना गर्ने माननीयज्यूलाई ३ बजे त्यहाँ उपस्थित हुन अनुरोध छ। दौरा सुरुवालमा जानु होला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।