काठमाडौं– नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको शून्य समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना प्रस्तुत गरेका छन्। आइतबारको शून्य समयमा उनले ब्यंग्यस्वरुप सूचना प्रस्तुत गरेका हुन्।
प्रचण्ड केही दिनअघि संसद् भवनमा झुलुक्क देखिएको र हाल आउनै छाडेको उनको ‘सूचना’मा उल्लेख छ। ‘उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला,’ उनले भने।
यस्तो छ पन्तको सूचना-
नागरिकताको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरिइराख्ने। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले कोट प्यान्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने।
उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ।
धन्यवाद।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।