काठमाडौं– सामाजिक सञ्जालबाट फिल्म पाइरेसी गरेको भन्दै ‘जारी’का निर्माताले साइबर ब्यूरोमा उजुरी दिएका छन्। निर्माता मणिराम पोखरेलले फिल्म पाइरेसी गर्ने ३२ वटा अकाउन्टविरुद्ध उजुरी दिएको नेपाल लाइभलाई बताए।
‘रिलिजको दिनदेखि नै पाइरेसी भइरहे। यसले फिल्मको व्यापारलाई नोक्सान गर्छ। त्यसकारण उजुरी दिनुपरेको हो,’ निर्माता पोखरेलले भने।
पाइरेसी भएको भन्दै साइबर ब्यूरोमा निवेदन गरेको ब्यूरोका एसएसपी नवीन्द अर्यालले पुष्टि गरे। ‘भिडिओ नै सार्वजनिक भएको अवस्थामा हामीले हटाउन लगाउने तथा कारबाही प्रक्रिया अघि बढाउने हो। तर कपीराइटको केस हो भने यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन,’ एसएसपी अर्यालले नेपाल लाइभसँग भने।
पछिल्लो समय सामाजिक सन्जालबाट फिल्म पाइरेसीका घटनाहरू बढ्दै गइरहेका छन्। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले उत्साहित व्यापार गरिरहेको छ। फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।