काठमाडौं– प्रदर्शन भएको २ दिनमै चलचित्र ‘बुलाकी’लाई निर्माण टिमले हलबाट उतारेको छ।
चलचित्रको शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता टोपेन्द्र विष्टले हलबाट उतार्ने निर्णय गरेका हुन्।
‘हलबाट राम्रो प्रतिक्रिया पाउँदा पाउँदै पनि हल व्यवसायीले गरेको अपहेलाना, प्राप्त सबै शो अफटाइम, मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको,’ निर्माण टिमको गुनासो छ, ‘चलचित्र प्रदर्शन भएको दोस्रो दिन ७० प्रतिशत शोक कटौती गरेको, फस्र्टलुक पोस्टर सार्वजनिकदेखि टिजर ट्रेदर र गीत सार्वजनिक भइसक्दा प्राप्त हाइपलाई बेवास गर्दै फिल्म र फिल्मको कन्टेन्ट नहेरी भ्रूण हत्याको शैलीमा अग्रिम बुकिङमै फिल्मलाई न्यून शो उपलब्ध गराएको छ।’
फिल्मलाई दर्शकको मागअनुसार प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने निर्माण टिमले जनाएको छ। काठमाडौंले अबहेलना गरेको कर्णाली र सुदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यहोरा दोहोर्याएको गुनासो उनीहरूको छ।
सुदूरपश्चिमको कथामाथि निर्माण भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्।
‘बुलाकी’जस्तै गत सालको भदौमा शो घटाएको भन्दै निर्देशक सुवर्ण थापाले पनि ‘राधा’लाई हलबाट उतारेका थिए। हलहरूले शो बाँडठबाँडमा वर्षौंदेखि विभेद गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।