विराटनगर– मोरङको रंगेली नगरपालिकाको संसारी माई मन्दिरमा पूजा गर्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रंगेली नगरपालिका वडा नम्बर ३ आमतोलामा शनिबार भएको दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको हो।
१९ जना सवार ट्याक्टर दुर्घटना हुँदा ग्रामथान गाउँपालिका–५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भिर घाइते रिता कुमारी माझीको विराटनगरस्थति गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ग्रामथानबाट पूजाका लागि जाँदै गर्दा तेतरिया–आमतोलाभित्री सडक खण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।
संसारी माई मन्दिरमा पूजाआजा गर्नका लागि सुनसरी, झापाका साथै मोरङको विभिन्न स्थानबाट दैनिक ठूलो संख्यामा जाने गर्छन्। तीन जिल्लाको ग्रामीण क्षेत्रबाट ट्याक्टरमा जोखिम पूर्ण तवरबाट चढेर आउनेको संख्या ठूलो हुने गरेको छ।
मृतक चौधरीको शव रंगेली अस्पताल र माझीको शव कोशी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।