काठमाडौं– वैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को ट्रेलर रिलिज भएको छ।
२ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा छ। गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाइएको छ।
चलचित्रमा अभिनेता महेश त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गरेका छन्।
महेश र बिनिता थापामगरको चलचित्रमा प्रमुख अभिनय छ। चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्।
‘हल्कारा’लाई विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन्। महेश र बिनितसँगै शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ।
चलचित्रले प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा अवार्डसमेत जितिसकेको छ।
चलचित्रले ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको थियो। सोही फेस्टिभलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन्।
साथै ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिभल २०२२’मा सेलेक्सनमा परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।