काठमाडौं- कमल थापा नेतृत्वको राप्रपाले प्रतिनिधिसभामा ७ र प्रदेशसभा निर्वाचनमा ३० सिट पाउने भएको छ।
लोकतान्त्रिक मोर्चामा सहभागी हुन उक्त सिट दिन नेपाली कांग्रेस सहमत भएपछि राप्रपा सरकारमा जाने निश्चित भएको छ।
राप्रपाले प्रतिनिधिसभा अन्तर्गत प्रदेश १ मा एक, प्रदेश २ मा दुई, प्रदेश ३ मा तीन, प्रदेश ६ मा एक र ५ मा एक सिट पाउने सहमति भएको राप्रपाका एक नेताले बताए।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट संख्यामा कुरा मिलेपछि राप्रापाले आजै सरकारलाई सर्मथन गरेको पत्र पठाएको छ।
राप्रपाले सरकारलाई सर्मथन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ। राप्रपालाई सरकारमा ल्याउँदा माओवादी बाहिर जान सक्ने जोखिमलाई ख्याल गर्दै सर्मथनको पत्र सरकार विस्तार हुनुभन्दा पहिला संसदमा पठाइएको हो।
यसअघि राप्रपा प्रजातान्त्रिकले सर्मथन गर्दै सरकारमा सहभागी भएको थियो। संघीय समाजवादी र राजपा समेत मोर्चामा सहभागी भएपछि सरकार ३०२ सांसदको सर्मथनमा पुग्ने आँकलन भएपछि थापालाई सरकारमा ल्याउन लागिएको हो। थापालाई उपप्रधानसहित गृह मन्त्रालय दिने भएपछि बिहानै पार्टीको कार्यसम्पादन समिति बैठक राखी पत्र तयार गरिएको थियो।
एमालेले वामपन्थी मोर्चा निर्माण गरेपछि नेपाली कांग्रेसले थालेको नयाँ मोर्चा निर्माणको पहल अन्तर्गत राप्रपासँग सहमति भएको हो। पशुपति शमशेर राणाको नेतृत्वको राप्रपालाई पनि १० सिट प्रत्यक्षमा दिने तयारी नेपाली कांग्रेसको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।