काठमाडौं– कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीमाथि अभिनेता तथा निर्माता दीपकराज गिरीले आक्रोश पोखेका छन्। आफ्नो फिल्मले कमाएको भन्दा कम मात्रै आम्दानी देखाएको भन्दै गिरीले आक्रोश पोखेका हुन्।
हालै सार्वजनिक ‘छक्का पञ्जा ४’ को कमाइ थोरै देखाएकोमा उनको आक्रोश हो।
‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ,’ उनले भनेका छन्।
कलाकार गिरीले अध्यक्ष केसीमाथि ‘निम्न आदरार्थी’ सम्बोधन गर्दै थपेका छन्, ‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा।’
चलचित्र विकास बोर्डले मंगलबार वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको कमाइ सार्वजनिक गरेको थियो। कबड्डी ४ ले सबैभन्दा धेरै २१ करोड ३८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको विवरणमा उल्लेख छ।
दीपकराज गिरीको चलचित्र छक्कापञ्जा ४ ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।