काठमाडौं– रोयल च्यालेन्जर्स बैंगलोरमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रमिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस जितेर पहिले फिल्डिङमा उत्रिएको लखनउले जितका लागि २१३ रनको लक्ष्य पाएको थियो। बैंगलोरले मात्र २ विकेटको क्षतिमा २१२ रन बनाएको थियो।
बैंगलोरका लागि कप्तान फाप डु प्लेसिस सर्वाधिक ७९ रन बनाएर अविजित रहे। विराट कोहली ६१ रन बनाएर आउट हुँदा ग्लेन म्याक्सवेलले ५९ रन बनाए। दिनेश कार्तिक १ रनमा अविजित रहे।
बैंगलोरविरुद्ध लखनउका मार्क उड र अमित मिश्राले १–१ विकेट लिए।
लखनउले २० ओभर खेल्दै ९ विकेट गुमाएर २१३ रनको लक्ष्य पूरा गर्यो। खराब सुरुवात गरेको लखनउले मात्र २३ रनमा ३ विकेट गुमाइसकेको थियो। ओपन कायल मेयर्स शुन्यमा आउट भए भने कप्तान केएल राहुल १८ रन बनाएर पेभेलियन फर्किए।
सुरुमै धर्मराएको लखनउको इनिङ्स मार्कस स्टोनिसले सम्हाले उनले ३० बलमा ६५ रन बनाए। उनले ५ छक्का र ६ चौका प्रहार गरे। यस्तै, निकोलस पुरनले १९ बलमा ६२ रन बनाए। १५ बलमा अर्धशतक पूरा गरेका उनले ७ छक्का र ४ चौका प्रहार गरे। आयुस बडोनीले ३० रन थपे।
लखनउविरुद्ध बैंगलोरका मोहम्मद सिराज र वायन परनेलले ३–३ विकेट लिए। यस्तै, हर्सल पटेलले २ र कर्ण शर्माले १ विकेट लिए।
जितपछि लखनउ चार खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलमा दुई अंक जोडेको बैंगलोर सातौँ स्थानमा छ।
आईपीएलमा आज (मंगलबार) साँझ ७:४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।