रुकुम पूर्व– जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन्।
तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोही ठाउँका दुई नाबालिका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) की प्रहरी नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार रिना र कालिमाया चैत्रको २२ गते सिस्नो टिप्न भनी सोही ठाउँको सेराबाङ भन्ने ठाउँमा गएका थिए। राति अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले खोज तलास गर्दा पनि उनीहरु भेटिएका थिएनन्।
२३ गते बिहानै खोज तलास गर्दा उनीहरुको ध्याङरजुङ भीरमा शव फेला परेको थियो। शव फेला परेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा सात जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको थियो।
उनीहरुको बयानको आधारमा पाँच जनालाई छोडिएको छ भने हत्यामा संलग्न दुई नाबालिकालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताइन्। ती दुई नाबालिकालाई २६ गते रुकुमकोट जिल्ला अदालतमा पेस गरेको र पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य जारी राखिएको छ।
रिना र कालिमायालाई उनीहरुले लगाएको गहनाको कारण हत्या गरेको बयान पक्राउ परेका नाबालिकाले दिएका छन्। उनीहरुले लगाएको गहना लुटेर जङ्गलमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो। रिना र कालिमाया दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइ सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।