काठमाडौं– पोखराबाट धौलागिरि हिमालको आधारशिविरका लागि उडेको हेलि एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ। कल साइन ९एन–एएमबी हेलिकोप्टर आधारशिविरमा अवतरणका क्रममा सन्तुलन बिग्रिएर पछाडिको भाग ठोक्किन पुगेको बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार क्याप्टेन प्रिया अधिकारीले उडाएको हेलिकोप्टर अवतरणका क्रममा असन्तुलित बन्दा पछाडिको भाग जमिनमा ठोक्किएको थियो।
जमिनमा ठोक्किएको पछाडिको भागमा क्षति पुगेको बताइएको छ। हेलिकोप्टर दुर्घटनाको खबरपछि पोखराबाट एयर डाइनास्टीको हेलिकोप्टर धौलागिरि आधारशिविरतर्फ पठाइएको छ।
हेलि एभरेस्ट स्रोतका अनुसार क्याप्टेन अधिकारी सकुशल छन्। उनलाई एयर डाइनास्टीको हेलिकोप्टरमार्फत् पोखरा ल्याइँदैछ।
हेलिकोप्टर म्याग्दीको इटालियन क्याम्पबाट लजिस्टिक सामानहरु बोकेर धौलागिरि आधारशिविरका लागि उडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।